विराटनगर । राजीव कोइराला ले संस्थापन इतर समूहले विराटनगरमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलाको प्रचार सामग्रीमा आफ्नो नाम बिना सहमति वक्ताका रूपमा राखिएकोप्रति आपत्ति जनाएका छन्। उनले यसलाई आफूलाई “फसाउन खोजिएको” प्रयासको रूपमा व्याख्या गरेका छन्।
जेठ ३१ गते विराटनगरमा हुने उक्त भेलाको प्रचार सामग्रीमा आफ्नो नाम वक्ताका रूपमा उल्लेख भए पनि त्यसबारे आफूलाई कुनै जानकारी नदिइएको कोइरालाको भनाइ छ। उनले वर्तमान अवस्थामा आफू नेपाली कांग्रेस को केन्द्रीय सदस्य भएकाले पार्टी सभापति विरुद्ध लक्षित कार्यक्रममा सहभागी नहुने स्पष्ट पारे।
“म अहिले कांग्रेसको केन्द्रीय सदस्य हुँ। यस्तो अवस्थामा कसरी त्यस्तो भेलामा जान्छु? कि त पद त्याग्नुपर्यो,” उनले भने, “नाम राख्दैमा सबै कुरा हुँदैन।”
कोइरालाले विगतमा पनि यस्ता कार्यक्रमबारे आफूलाई जानकारी नदिइने गरेको उल्लेख गर्दै यसपटक पूर्वसहमति बिना नाम समावेश गरिएको गुनासो दोहोर्याए। उनका अनुसार उक्त कार्यक्रमबारे छलफल गर्न नेता डा. शेखर कोइराला उनको निवासमा पुगेका थिए। “उहाँ चिया खान आउनुभएको थियो, अन्य कार्यकर्तालाई पनि निम्ता गरिएको थियो,” उनले बताए।
तर आफू हाल काठमाडौंमा रहेकाले कार्यक्रमको विस्तृत रूपरेखा समेत थाहा नभएको उनले स्पष्ट पारे।
पार्टीभित्रको आन्तरिक ध्रुवीकरणतर्फ संकेत गर्दै कोइरालाले व्यङ्ग्यात्मक टिप्पणी पनि गरे। “निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ, तर निदाएको नाटक गर्नेलाई कसरी उठाउने?” उनले भने। उनले यो गतिविधि पार्टीभित्र फुटको प्रयास हो कि दबाब सिर्जना गर्ने रणनीति हो भन्नेबारे स्पष्ट नभएको पनि बताए।
यसैबीच, उनले नेतृत्व तहले समन्वयकारी भूमिका खेल्दै पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनी पहिले शेखर कोइराला समूहमा सक्रिय रहे पनि पछिल्लो समय गगन थापा निकट समूहमा खुलेका थिए र सोही समूहको समर्थनमा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
विराटनगरस्थित मनास्लु होटलमा हुने भेलामा नेता शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा कृष्णप्रसाद सिटौला, शशांक कोइराला, मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा रहने जनाइएको छ।
