विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालित सेरेब्रल पाल्सी (सीपी) डे केयर सेन्टरमा सामग्री व्यवस्थापन तथा अभिलेख संरक्षणलाई थप व्यवस्थित बनाउने उद्देश्यले ३ वटा स्टिल दराज तथा एक वटा टिकका काठको शोकेस आल्मिरा स्थापना गरिएको छ।
सेन्टरमा आवश्यक फाइल, शैक्षिक सामग्री, खेलौना, म्याट तथा अन्य सामग्रीहरूको सुरक्षित र व्यवस्थित भण्डारणका लागि ३ वटा स्टिल दराज जडान गरिएको हो। यस कार्यका लागि आवश्यक रकममध्ये रु. १२,००० श्री नवीन पोद्दारले सहयोग गर्नुभएको थियो भने बाँकी रकम रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यहोरेको थियो।
त्यसैगरी, सेन्टरको कार्यालयमा विद्यार्थीहरूको अभिलेख तथा फाइलहरू सुरक्षित रूपमा राख्न र क्लबले प्राप्त गरेका ट्रफी तथा सम्मानहरू प्रदर्शन गर्न टिका काठको आकर्षक शोकेस आल्मिरा स्थापना गरिएको छ। उक्त आल्मिरा रोटेरियन लता सारडाले सहयोगस्वरूप प्रदान गर्नुभएको हो।
क्लबका अनुसार यी संरचनाहरूले सेन्टरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूको संरक्षण र सहज पहुँच सुनिश्चित गर्नेछन्। साथै, कार्यालयको सौन्दर्य र व्यवस्थित वातावरण निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सीपी डे केयर सेन्टरमार्फत विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवनस्तर सुधारका लागि निरन्तर विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
