विराटनगर । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दीपावली) आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशी तिथि प्रारम्भ भएसँगै पाँच दिनसम्म मनाइने यमपञ्चक पनि सुरु भएको हो।
यस वर्ष तिथिको घटबढका कारण तिहार छ दिनसम्म मनाइँदैछ। आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएकाले साँझ धनतेरस मनाइँदैछ।
धनतेरसका अवसरमा विशेषगरी मधेश तथा मिथिला क्षेत्रमा धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ किन्ने परम्परा छ। धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ आज साँझ घरमा दीप प्रज्वलनसमेत गरिन्छ।
के हो यमपञ्चक ?
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीय अर्थात् भाइटीकासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। धार्मिक मान्यताअनुसार यी दिनमा मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गर्न जाने विश्वास छ।
यमपञ्चकका अवसरमा अकाल मृत्युबाट बच्न तथा आरोग्य र पारिवारिक सुख–शान्तिको कामना गर्दै साँझ दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्ने परम्परा छ।
यस वर्ष तिथिको हेरफेरका कारण त्रयोदशीमा पर्ने कागपूजा र धन्वन्तरी जयन्ती शनिबार परेको छ। शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने भएकाले सूर्योदयकालीन तिथिअनुसार कागपूजा गरिनेछ।
त्यस्तै, आइतबार चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ धनकी देवी महालक्ष्मीको पूजाआराधना गरिनेछ।
यस वर्षको तिहार आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज अर्थात् भाइटीका लगाएसँगै सम्पन्न हुनेछ।
