Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

कम्बोडियामा अलपत्र नेपालीको जरिबाना मिनाहा, एक साताभित्र स्वदेश फर्किन आग्रह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | अपराह्न १२:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भइसकेपछि पनि त्यहाँ बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना तथा शुल्क मिनाहा गरेको छ ।

थाइल्यान्ड को बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले जरिबाना मिनाहा गर्दै उनीहरूलाई स्वदेश फर्कन सहज बनाएको हो ।

बिज्ञापन

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली का अनुसार जरिबाना मिनाहा गरिएका ६०२ नेपालीमध्ये हालसम्म ३०२ जना नेपाल फर्किन बाँकी छन् । तीमध्ये करिब २५० जना फर्कने प्रक्रियामा रहेको र ५२ जना अझै अटेरी गरेर कम्बोडियामै बसिरहेको जानकारी प्राप्त भएको उनले बताए ।

राजदूत वलीले सबै नेपालीलाई नेपाल फर्कन आवश्यक ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराइसकिएको जानकारी दिँदै अबको एक साताभित्र स्वदेश नफर्किए कम्बोडियाको नयाँ कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिए ।

कम्बोडियामा भिसा अवधि सकिएपछि बस्ने विदेशी नागरिकलाई दैनिक १० अमेरिकी डलर जरिबाना लाग्ने व्यवस्था छ । पछिल्ला केही महिनामा मात्रै नेपालीहरूले तिर्नुपर्ने आठ करोड रुपैयाँभन्दा बढी बराबरको जरिबाना शुल्क मिनाहा गरिएको दूतावासले जनाएको छ ।

यसैबीच, बैंककस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गर्दै भिसा अवधि समाप्त भएर पनि कम्बोडियामा बसिरहेका सबै नेपालीलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन आग्रह गरेको छ ।

कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई पक्राउ गरी जरिबाना तथा कैद सजायसमेत हुन सक्ने व्यवस्था गरिएको छ । अवैध अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने तथा भिसा अवधि समाप्त भएपछि पनि बस्ने विदेशीलाई पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने प्रावधान राखिएको छ ।

राजदूत वलीका अनुसार जरिबाना मिनाहा गरिएका नेपालीमध्ये पाँचौँ र छैटौँ चरणका ५२ जना अझै कम्बोडियामै बसिरहेका छन् । अबको एक साताभित्र नफर्किए उनीहरू पनि नयाँ कानुनअनुसार कारबाहीमा पर्नेछन् ।

दूतावासका अनुसार जरिबाना तथा शुल्क मिनाहा भएका व्यक्तिले हवाई टिकटको व्यवस्था भने आफैँ गर्नुपर्नेछ । टिकट व्यवस्थापनपछि त्यसको जानकारी कम्बोडियाको अध्यागमन विभागलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

मानवतस्करहरूले विभिन्न प्रलोभनमा पारेर नेपाली युवालाई कम्बोडिया पुर्‍याई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम लगाउने गरेको पाइएको छ । बैंककस्थित नेपाली दूतावासले विगत दुई वर्षदेखि यस्ता नेपालीको उद्धार गरी स्वदेश फर्काउने काम गर्दै आएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka