विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गणतन्त्रलाई थप उन्नत बनाउनु पर्नेमा जोड दिएका छन् ।
१९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली जनताको लामो आन्दोलन र अथक प्रयासका कारण देशमा गणतन्त्र स्थापना भएको बताए ।
उनले नागरिक अधिकारसहितको शासन व्यवस्था प्राप्त भएको भन्दै यो स्वतन्त्रता, समावेशिता र जनअधिकारको रक्षाको लागि समेत भएको बताए । उनले भने,‘‘नागरिक मैत्री सरकार स्थापना विगतमा अग्रजहरुले गरेको संघर्षको परिणाम हो । तर, त्यसलाई नजअन्दाज गर्ने कार्य भएको छ ।’’ उनले लोकप्रियतावादको नाममा प्राप्त उपलब्धिमाथि गम्भीर प्रहार भईरहेको पनि बताए ।
राष्ट्रिय अखण्डता र स्वतन्त्रतलाई कमजोर बनाउने प्रयास भईरहेको भन्दै यसलाई थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उनले सुनाए । गणतन्त्र संस्थागत गर्दै थप मजबुत र उन्नत बनाउनु पर्नेमा कार्कीको जोड थियो ।
