काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसके आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ (२) अनुसार सभामुख डोलप्रसाद आर्यालले प्रधानमन्त्रीलाई जवाफदेही बनाएर सदनमा ल्याउनुपर्ने बताएका हुन् ।
“यहाँले १५ (२) अनुसार जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरिदिनुहोस्,” उनले बैठकमा भने ।
साम्पाङले आफू कराउने वा आक्रोशित हुने पक्षमा नरहेको उल्लेख गर्दै सभामुखको बाध्यता बुझेको बताए । उनले आफूलाई “बदमास विद्यार्थी” जस्तो भएको टिप्पणी पनि गरे ।
सभामुख आर्यालले यस विषयमा अघिल्लो बैठकमै धारणा राखिसकेको भन्दै उनलाई बस्न आग्रह गरेका थिए । त्यसपछि साम्पाङ आफैँ बैठक कक्ष छाडेर बाहिरिएका थिए ।
यसअघि मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भवतः एक साताभित्र प्रधानमन्त्री सदनमा उपस्थित हुने जानकारी गराएको थियो ।
