काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार अमेरिका, इरान र मध्यस्थकर्ताको भूमिकामा रहेका राष्ट्रहरूबीच अधिकांश विषयमा सहमति भइसकेको छ र अब अन्तिम विवरण तय गर्ने काम मात्र बाँकी छ।
अमेरिका–इरान तनाव चर्किएको अवस्थामा युद्ध अन्त्यको प्रयासस्वरूप पाकिस्तानी सेना प्रमुख असिम मुनीर तेहरान पुगेका थिए। उनले त्यहाँ राजनीतिक तथा सैन्य नेतृत्वसँग छलफल गरेका थिए।
ट्रम्पले आइतबार सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै वार्तामा उल्लेखनीय प्रगति भएको दाबी गरेका हुन्। प्रस्तावित प्रारम्भिक सम्झौताअनुसार अमेरिका र इरानबीच ३० दिनको वार्ता अवधि रहनेछ, आवश्यक परे उक्त अवधि थप एक महिनासम्म लम्ब्याउन सकिने व्यवस्था रहने बताइएको छ।
दी वाल स्ट्रिट जर्नलका अनुसार प्रस्तावित समझदारीको मुख्य उद्देश्य युद्ध रोक्नु, अस्थायी कूटनीतिक ढाँचा तयार गर्नु तथा विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजलाई सञ्चालनमा राख्नु हो।
सम्झौताअन्तर्गत इरानले अस्थायी रूपमा हर्मुज जलडमरूमध्य खुला राख्ने र युद्धविरामको वातावरण बनाउन सहमति जनाउने चर्चा छ। त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने तथा वार्ता जारी रहने अवधिमा समुद्री मार्ग अवरुद्ध नहुने सुनिश्चितता दिने सम्भावना रहेको बताइएको छ।
यद्यपि, यो केवल प्रारम्भिक ढाँचा भएकाले दुवै पक्षबीच विस्तृत वार्ता अझै जारी रहने जनाइएको छ।
त्यस्तै, The New York Times ले इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने विषयमा प्रारम्भिक सहमति जनाएको उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको अनुमान गरिएको छ।
तर उक्त युरेनियम भण्डार कसरी व्यवस्थापन गर्ने वा हस्तान्तरण गर्ने भन्ने प्राविधिक विषय अझै टुंगिन बाँकी रहेको र आगामी चरणको वार्तामा त्यसबारे निर्णय हुने बताइएको छ। अमेरिकी अधिकारीहरूले यसलाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक पक्षका रूपमा लिएका छन्।
प्रस्तावित सम्झौताप्रति इजरायलमा भने चासोसँगै असन्तुष्टि पनि देखिएको बताइएको छ। वार्ताको प्रत्यक्ष पक्ष नरहेको इसराइलले अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै असन्तोष व्यक्त गरेको जनाइएको छ।
