काठमाडौं । सिएनएनलेसार्वजनिक गरेको विवरणअनुसार, इजरायल र अमेरिकाका गुप्तचर निकायले इरानका सर्वोच्च नेता अलि खामेनीमाथि महिनौँदेखि गोप्य निगरानी गर्दै आएका थिए।
स्रोतहरूका अनुसार खामेनीईको दैनिक गतिविधि, बसोबास, भेटघाट, सञ्चार माध्यम तथा आकस्मिक आक्रमणको अवस्थामा लुक्न सक्ने सम्भावित स्थानसम्मको विस्तृत विवरण संकलन गरिएको थियो।
इरानका वरिष्ठ राजनीतिक तथा सैन्य नेतृत्वमाथि पनि समानान्तर निगरानी भइरहेको बताइएको छ। चार दशकदेखि सत्तामा रहेका खामेनीईसँग ती अधिकारीहरू विरलै एउटै स्थानमा भेला हुने गर्थे। तर पछिल्ला दिनहरूमा त्यस्तो अवसर जुरेको दाबी गरिएको छ।
शनिबार बिहान तेहरानस्थित एक विशेष परिसरमा खामेनीईसहित इरानका शीर्ष अधिकारीहरू छुट्टाछुट्टै स्थानमा भेट्ने तयारीमा थिए। उक्त परिसरभित्र सर्वोच्च नेताको कार्यालय, राष्ट्रपति भवन र राष्ट्रिय सुरक्षा संयन्त्र रहेका थिए।
अत्यन्त सतर्क रहने खामेनीईले दिउँसो आफूलाई तुलनात्मक रूपमा सुरक्षित ठानेर सुरक्षा सावधानीमा केही ढिलाइ गरेको इजरायली स्रोतको भनाइ छ। यही अवस्थालाई केही इजरायली र अमेरिकी अधिकारीहरूले ‘गुमाउन नहुने अवसर’का रूपमा लिएका थिए। त्यसपछि राति तय गरिएको आक्रमण योजना दिउँसोमै सारिएको बताइएको छ।
इजरायली सेनाका प्रधान सेनापति आयाल जमिरले वायुसेनाका चालकहरूलाई पठाएको सन्देशमा अभियानको गम्भीरता उल्लेख गरेका थिए। उनले ‘गर्जिरहेको सिंह अभियान’ सुरु हुँदै गरेको उल्लेख गर्दै लक्ष्यमाथि प्रहार गर्न अनुमति दिइएको र इतिहास रचिने दाबी गरेका थिए।
इजरायली समयअनुसार बिहान करिब ६ बजे उज्यालो भइसकेपछि संयुक्त आक्रमणको पहिलो चरण सुरु भएको थियो। इजरायली युद्धविमानहरूले परिसरमा सटीक बमबारी गरेका थिए। स्रोतका अनुसार ती विमानहरू उच्च सटीकतायुक्त गोलाबारुद र लामो दूरीका क्षेप्यास्त्रले सुसज्जित थिए। परिसरभित्र रहेका तीन अलग–अलग स्थानलाई एकैसाथ लक्षित गरिएको थियो।
केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीईको मृत्यु भएको घोषणा गरेका थिए। उनले खामेनीई अमेरिकी गुप्तचर संयन्त्र र उन्नत निगरानी प्रणालीबाट उम्किन नसकेको दाबी गरेका थिए।
यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डर, रक्षामन्त्रीसहित इरानका वरिष्ठ नेताहरू अमेरिकी धम्कीका बीच तेहरानको केन्द्रमै किन भेला भए भन्ने प्रश्न अझै अनुत्तरित छ। इजरायली गुप्तचर निकायले रक्षामन्त्री अजिज नासिरजादेह, सैन्य परिषद्का प्रमुख एडमिरल अली शामखानी, उपगुप्तचरमन्त्री मोहम्मद शिराजी, आईआरजीसीका प्रमुख मोहम्मद पाकपुर तथा एरोस्पेस बलका कमान्डर सैयद माजिद मौसाभीलगायत उच्च अधिकारी उपस्थित रहेको जनाएको छ। उनीहरूको उत्तराधिकारी को हुने भन्नेबारे स्पष्टता आएको छैन।
घटनापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति थप अनिश्चित बनेको छ। यो अभियानले इरानभित्र इजरायल र अमेरिकाको गुप्तचर सञ्जाल कति गहिरोसम्म सक्रिय रहेछ भन्ने देखाएको विश्लेषण गरिएको छ। साथै, अवसर मिल्नासाथ दुवै देशले छिटो र निर्णायक कदम चाल्ने तयारीमा रहेको सन्देश पनि यसबाट प्रस्ट भएको छ।
