






विराटनगर । कोसी प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा माथि आज(मंगलबार) बाट छलफल शुरु हुँदैछ ।
कोसी प्रदेश सभाको बैठक दिउँसो १ बजेलाई डाकिएको छ । सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगले विधेयक प्रस्तुत गरेका थिए । यसअिघ सरकारको नीति तथा कार्यक्रम सभाबाट वहुमतले पारित भएको थियो । कोसी सरकार बजेटको तयारीमा लागेको छ । संघीय सरकारको बजेट लगत्तै प्रदेशहरुले ल्याउने कानुनी व्यवस्था छ ।
आर्थिक समृद्धि, सुशासन, दिगो विकास र सेवा प्रवाहमा सुधारलाई नीति र बजेटको मूल आधार बनाउने नीति लिइने दाबी गरिएको छ ।
विधेयकमा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई दीर्घकालीन लक्ष्य बनाएर समावेशी र उत्तरदायी शासन प्रणालीमार्फत जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य राखिएको छ ।
विधेयकमा समग्र आर्थिक आधारको सबलीकरण गरी हरित अर्थतन्त्रको प्रवर्द्धन, निजी–सार्वजनिक साझेदारीमा लगानी र राजस्व वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।
दिगो विकास सुनिश्चित गर्न वातावरणीय संरक्षण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई समेत बजेटमार्फत प्राथमिकता दिइने उल्लेख छ ।