Premier Cables
Premier Steel

राजनीति

रास्वपा केन्द्रीय समिति बैठक: गृहमन्त्री गुरुङबारे छलफल भएन, के भयो निर्णय?

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | राती ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पूर्वनिर्धारित एजेन्डा पारित गर्दै सोमबार सम्पन्न भएको छ। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सचिवालयका निर्णयसहित ९ बुँदे एजेन्डा अनुमोदन गरेको हो।

बैठकमा भने गोरखा–१ बाट निर्वाचित सांसद तथा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै छलफल नभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गुरुङमाथि राजीनामाको दबाब बढे पनि उक्त विषय बैठकको एजेन्डामा नरहेको उनले स्पष्ट पारे।

बिज्ञापन

“हरेक विषय बैठकमै आउनुपर्छ भन्ने हुँदैन। आजको एजेन्डामा त्यो विषय थिएन, त्यसैले छलफल पनि भएन,” झाले भने।

यद्यपि पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री गुरुङले दिएको स्पष्टीकरण पार्टीमा आएको र त्यसबारे अध्ययन भइरहेको बताएका छन्। “उहाँको स्पष्टीकरण प्राप्त भएको छ, पार्टीले यसलाई हेरिरहेको छ,” उनले सञ्चारकर्मीसँग भने।

सहमहामन्त्री विपिन कुमार आचार्यले पनि बैठकमा गृहमन्त्रीबारे कुनै प्रश्न वा छलफल नभएको पुष्टि गरे। उनका अनुसार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एजेन्डा प्रस्तुत गरेका थिए भने सभापति लामिछानेले समग्र पार्टी अवस्थाबारे संक्षिप्त ब्रिफिङ गरेका थिए।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहमाथि पदीय दुरुपयोगको आरोप लागेपछि पार्टीको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पदमुक्त गरेका थिए।

बैठकले संगठनात्मक निर्णयहरू पनि गरेको छ। वरिष्ठ नेता भूपदेव शाहलाई महामन्त्रीमा मनोनयन गरिएको छ भने सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थपिएको छ। यससँगै सचिवालयको सदस्य संख्या १६ पुगेको छ।

नवनियुक्त महामन्त्री शाहलाई पार्टी र सरकारबीच समन्वयकारी भूमिका दिइएको छ। साथै, सातै प्रदेशबाट संयोजक र सह–संयोजक रहने गरी समिति गठन गरिएको छ। जिल्ला अधिवेशन सञ्चालन कार्यविधि पनि बैठकले पारित गरेको छ, जसअनुसार वैशाख १५ गतेदेखि अधिवेशन सुरु हुनेछ।

केन्द्रीय महाधिवेशनको कार्यविधि तयार पार्ने जिम्मेवारी महामन्त्री बुर्लाकोटीलाई दिइएको छ। उक्त समितिमा रोहन कार्की, रञ्जु दर्शना, विष्णु पुरुष श्रेष्ठ, विनिता कठायत र सुशान्त वैदिक सदस्य रहेका छन्।

विधान संशोधन समितिको संयोजक सहमहामन्त्री आचार्यलाई तोकिएको छ। साथै, वैशाख २० गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गर्दै ‘क्यान्डिडेट क्लब’ मार्फत प्रक्रिया अघि बढाइने भएको छ।

रास्वपाले प्रवासमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

यसैबीच बैठकले नयाँ पदाधिकारीहरूको शपथ गराएको छ र संघीय नेतृत्व मञ्चमा थप ६ सदस्य मनोनयन गरेको छ। साथै, जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरी शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा नियुक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka