फायल फोटो
काठमाडौं । लेबनान र इजरायलबीच १० दिनको अस्थायी युद्धविराममा सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
यो युद्धविरामलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा हेरिएको छ। यदि यस अवधिमा कुनै उल्लंघन भएन भने स्थायी शान्तिको मार्ग खुल्न सक्ने संकेत गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै यसलाई आफ्नो “१०औँ युद्ध समाधान” हुने दाबी गरेका छन्।
बिहीबार रातिदेखि लागू भएको युद्धविरामअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो। सन् १९८३ पछिको यो पहिलो महत्वपूर्ण प्रत्यक्ष संवाद हो। ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने पनि बताएका छन्।
लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पप्रति आभार व्यक्त गर्दै क्षेत्रमा दीर्घकालीन स्थायित्वका लागि पहल भइरहेको बताएका छन्। उनले शान्ति र स्थिरताका लागि प्रयास जारी रहने पनि स्पष्ट पारे।
यसैबीच, लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न आग्रह गरिरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले भने इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोकेको खण्डमा मात्र आगामी कदम तय गरिने बताएका छन्।
