फायल फोटो
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम ‘महेन्द्र राजमार्ग’ को सट्टा ‘यलम्बर राजमार्ग’ राख्न प्रस्ताव गरेका छन्। सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा उक्त सडकलाई पुनः ‘महेन्द्र राजमार्ग’कै नामले उल्लेख गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सरकारले सो प्रतिबद्धता पत्रमार्फत आगामी तीन वर्षभित्र उक्त राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने लक्ष्य पनि राखेको छ। तर, सरकारी दस्तावेजमा पुरानै नाम प्रयोग भएपछि सामाजिक सञ्जालमा यसलाई फेरि ‘महेन्द्र राजमार्ग’कै रूपमा स्थापित गर्न खोजिएको हो कि भन्ने बहस सुरु भएको छ।
यसै विषयमा आफ्नो धारणा व्यक्त गर्दै साम्पाङले सामाजिक सञ्जालमा ‘महेन्द्र हाइवेभन्दा यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो’ भन्दै किरात राजा यलम्बरको नाममा राजमार्गको नामकरण हुनुपर्ने संकेत गरेका छन्।
वि.सं. २०१८ सालमा निर्माण सुरु भएको यस राजमार्गको शिलान्यास तत्कालीन राजा महेन्द्रले गरेका थिए र पछि उनकै नामबाट ‘महेन्द्र राजमार्ग’ राखिएको थियो। तर, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यसको नाम परिवर्तन गरी ‘पूर्व–पश्चिम लोकमार्ग’ राखिएको थियो।
