विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बुढीगंगा गाउँपालिकाको वडा नं. ४ र वडा नं. ६ मा स्थापना गरिएका दुई वटा केन्द्रमा सञ्चालन गरिएको एड्भान्स टेलरिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम कार्यक्रममा ४२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाका मेयर श्री जीत नारायण थापा मगर रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा उपमेयर श्रीमती अमृता कुमारी गच्छदारको उपस्थिति रहेको थियो। उहाँहरूले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष श्रीमती गिरिजा सारडाले तालिम कार्यक्रमबारे विस्तृत जानकारी दिँदै बुढीगंगा गाउँपालिकाको वडा नं. ४ र ६ मा क्लबले दुई वटा टेलरिङ प्रशिक्षण केन्द्र स्थापना गरी तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले महिलाहरूलाई स्वरोजगारतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा रोटेरियन मञ्जु अग्रवाल, सरिता गोल्छा, मुक्ता तोदी, सपना सिंघल र निधि राठी लगायत क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला सशक्तीकरण, सीप विकास तथा आर्थिक आत्मनिर्भरताका लागि समुदायमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

