विराटनगर ।रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले गर्मी र वर्षायामलाई मध्यनजर गर्दै सडक छेउमा सब्जी तथा भुटेको मकै बिक्री गर्ने महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले “द शेड्स” कार्यक्रम अन्तर्गत २५ वटा ठूला छाता वितरण गरेको छ।
बिराटनगरका विभिन्न चोक–चौराहामा फुटपाथमा बसेर सब्जी बिक्री गर्ने तथा मकै पोल्ने काम गर्दै आएका महिलाहरूलाई घाम र वर्षाबाट जोगाउन छाताहरू प्रदान गरिएको क्लबले जनाएको छ। साथै, लैङ्गिक हिंसा समितिसम्म सहयोगको लागि पुगेका केही महिलाहरूलाई पनि जीविकोपार्जनका लागि सब्जी व्यापार गर्न प्रोत्साहन स्वरूप छाता उपलब्ध गराइएको थियो।
क्लबकी अध्यक्ष गिरिजा सारडाले कार्यक्रमको बारेमा जानकारी दिँदै क्लबले समुदाय र आर्थिक सशक्तीकरणका लागि विभिन्न पहलहरू गरिरहेको बताइन्। उनले गत महिनाको १ तारिखमा मात्रै क्लबले ५६ वटा साइकल वितरण गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू दीप्ति तोदी, मञ्जु अग्रवाल लगायत क्लबका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले महिला सशक्तीकरण, सामुदायिक सहयोग तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
