काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको एक्सरसाइज एयरको विमान बुधबार बिहान विराटनगर विमानस्थल आईपुग्ने क्रममा दुर्घटनाग्रस्त हुन्छ ।
चैत २५ गते(बुधबार) बिहान ०७ः२० बजे काठमाडौंबाट उडेको फ्लाइट नम्बर ईए ००६ कल साइन ९एन जेडजेडजेड भएको जहाज अवतरणका क्रममा असामान्य रूपमा रनवेमा सम्पर्क भएपछि ‘मिस्ड अप्रोच’ गरिएको थियो। त्यसपछि जहाजको प्राविधिक अवस्था (प्यारामिटर) जाँच गर्दा देब्रेतर्फको ल्यान्डिङ गियरमा समस्या (सम्भावित क्षति) देखिएको थियो।
उक्त समस्यापछि विमानले पुनः अवतरण प्रयास गर्ने क्रममा बिहान ०८ः०५ बजे विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुन पुग्छ ।
विमानमा यात्रु तथा चालकदलका सदस्यसहित कुल ५५ जना सवार रहेको जनाइएको छ। उनीहरूको अवस्था हालसम्म स्पष्ट हुन नसकेको र उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ।
दुर्घटनापछि विराटनगर विमानस्थल तत्कालका लागि बन्द गरिएको हुन्छ । उद्धारकर्मी टोली र एम्बुलेन्स तुरुन्तै परिचालन हुन्छ । दमकहरुले साइरन बजाउँदै रनवेतिर दौडन्छन् । बुधबार विराटनगर विमानस्थलमा यस्तै एउटा प्रयोग गरिएको थियो । त्यो राहत तथा उद्धार कार्यको लागि गरिएको डेमो थियो । विमानस्थलमा सम्भावित दुर्घटनाको विषयमा हरेक वर्ष यसरी प्रतिउद्धार कार्य गरिँदै आएको छ।
यो जानकारी पहिलो प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो। सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार थप विवरण आउन बाँकी छ।

