काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदमा दाबी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएसँगै नेकपाले उपसभामुख पद आफ्नो भागमा पर्नुपर्ने दाबी अघि सारेको हो।
नेकपा नेता वर्षमान पुनले यस विषयमा अन्य दलहरूसँग छलफल अघि बढाइने बताए। आइतबार प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको स्पष्ट पारे।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपसभामुख पदमा दाबी गरेको छ।
संविधानअनुसार एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाउने प्रावधान भएकाले अब रास्वपा बाहेकका दलमध्ये एकले उपसभामुख पाउने अवस्था बनेको छ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि यो पदमा दलहरूको चासो बढेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ।
