नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा महिला तथा बालिकामाथि हिंसाका ११६ घटना अभिलेख भएका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म उक्त संख्यामा घटना दर्ता भएका हुन्।
प्रतिवेदनअनुसार कुल घटनामध्ये २२.४ प्रतिशत अर्थात २६ वटा यौन हिंसाका घटना रहेका छन्। तीमध्ये ६५.४ प्रतिशत अर्थात १७ वटा बलात्कारका घटना रहेका छन् भने २३.१ प्रतिशत अर्थात ६ वटा यौन दुर्व्यवहारका घटना छन्। बाँकी घटनामा सामूहिक बलात्कार, वैवाहिक बलात्कार र बलात्कारको प्रयासका एक–एक घटना अभिलेख भएका छन्।
उमेर समूहका आधारमा हेर्दा यौन हिंसा कुनै एक उमेर समूहमा मात्र सीमित नभएको देखिएको छ। तथ्याङ्कअनुसार सबैभन्दा बढी १८ वर्षमुनिका बालिका प्रभावित भएका छन्, जसको संख्या १३ अर्थात ५० प्रतिशत छ। त्यसपछि १८ देखि २५ वर्ष उमेर समूहका ८ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ३ जना तथा ३६ देखि ४५ र ४६ देखि ५५ वर्ष उमेर समूहका एक–एक जना महिला पीडित रहेका छन्।
शैक्षिक अवस्थाको विश्लेषण गर्दा साक्षर महिलासमेत यौन हिंसाबाट प्रभावित भएको देखिएको छ। कुल पीडितमध्ये ११.५ प्रतिशत निरक्षर रहेका छन् भने ८८.५ प्रतिशत शिक्षित छन्। शिक्षितमध्ये ४६.२ प्रतिशतले आधारभूत शिक्षा, ३०.८ प्रतिशतले माध्यमिक शिक्षा तथा ११.५ प्रतिशतले स्नातक वा सोभन्दा माथिको शिक्षा हासिल गरेका छन्।
जातिगत आधारमा हेर्दा सबै समुदायका महिला हिंसाबाट प्रभावित भएका छन्। सबैभन्दा बढी पहाडी ब्राह्मण–क्षेत्री समुदायका ६ जना पीडित रहेका छन्। त्यसपछि तराई दलित समुदायका ५ जना, मधेसी, पहाडी जनजाति र तराई जनजाति समुदायका ४–४ जना, पहाडी दलित समुदायका २ जना तथा मुस्लिम समुदायका १ जना पीडित रहेको तथ्याङ्कले देखाएको छ।
ओरेकले त्रैमासिक प्रतिवेदनमा समेटिएका घटनाहरूको बहुपक्षीय विश्लेषण गर्दै यौन हिंसा अझै पनि समाजमा गम्भीर समस्या बनेको उल्लेख गरेको छ। संस्थाले महिला र बालिकाको सुरक्षा सुनिश्चित गर्न राज्य र समाज दुवैले थप सक्रिय पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
