काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गर्दै गरेको हवाई आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। उक्त घटनामा अन्य दुई विदेशी नागरिकको पनि ज्यान गएको पुष्टि भएको छ।
यूएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिकको मृत्यु भएको हो।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पनि एक नेपाली नागरिकको ज्यान गएको जानकारी दिएका छन्। उनका अनुसार मृतकको परिचय अझै खुल्न बाँकी छ।
रक्षा मन्त्रालयले इरानबाट हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार भएको जनाएको छ। यूएईको हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय बनाएको भए पनि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए।
आक्रमणका क्रममा नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
