विराटनगर । मोरङ–५ मा तारा चिन्हका उम्मेदवार शिवकुमार मण्डलको प्रभाव घट्दै? जनमतमा चिसोपन देखिएको संकेत”
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को चुनावी माहोल तात्तिएको छ । सबै दलका उमेदवार चुनावी प्रचारमा व्यस्त छन् । यस पटक सबै राजनीतिक दल एकल उमेदवारी दिएर चुनावी प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेस, एमाले, जसपा, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा उमेदवारले घरदैलो तथा सभालाई तीव्र बनाएका छन् । योसँगै कुन दलका उमेदवारले बाजी मार्लान भन्ने अड्कलबाजी पनि शुरु भएको छ ।
विगतमा यो क्षेत्रमा निर्वाचित शिवकुमार मण्डल नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने तारा चिन्हबाट चुनावी मैदानमा छन् । उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डल यस क्षेत्रबाट पहिले विजयी भइसकेका अनुभवी राजनीतिज्ञ हुन्। तर स्थानीय स्तरमा गरिएको बुझाइ र जनमतको प्रतिक्रियाअनुसार, विजयी भएपछि अपेक्षित रूपमा उल्लेखनीय काम हुन नसकेको भन्ने गुनासो नागरिकहरूबाट सुनिन थालेको छ। यस पटक मण्डलको अवस्था खस्किएको विश्लेषण छ ।
गत निर्वाचनमा हार व्यहोरेका मण्डलको नाम यसपटक पनि जनताको बीच पहिले जस्तो उत्साहका साथ नउठिरहेको चर्चा राजनीतिक वृत्तमा बढ्दो छ। विशेषगरी युवावर्ग र स्थानीय मतदाताहरू विकास, रोजगारी र प्रत्यक्ष जनसम्पर्कमा केन्द्रित नेतृत्व खोजिरहेको देखिन्छ, जसले चुनावी समीकरणलाई प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ।
देशव्यापी रूपमा माओवादीको लोकप्रियता क्रमशः घट्दै गएको बहस चलिरहेकै बेला त्यसको प्रभाव मोरङ–५ मा पनि देखिन सक्ने अनुमान स्थानीय राजनीतिक पर्यवेक्षकहरूले गरेका छन्। जनतासँग गरिएको अनौपचारिक संवादमा मण्डलप्रति भरोसा पुनः स्थापित गर्न अझ सक्रिय जनसम्पर्क र ठोस कार्यदृष्टि आवश्यक रहेको प्रतिक्रिया आएको बताइएको छ।
यसपटकको निर्वाचनमा शिवकुमार मण्डलले विगतको छवि सुधार्दै जनविश्वास पुनः जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै मोरङ–५ को प्रमुख राजनीतिक बहसको विषय बनेको छ।
क्षेत्र नम्बर ५ बाट नेकपा एमालेबाट मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी नेपालबाट राजकुमार यादव मुख्य प्रतिस्पर्धी हुन्।
यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नरेशकुमार लाभ तथा सुजितकुमार साह, राजकुमार राजवंशी, अमरकुमार यादव, जयनारायण शर्मा, सूर्यनारायण ठाकुर, ममता यादव, मोहमद रेजा हुसैन र विकाश श्रेष्ठहरू स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमोद राय, जनमत पार्टीबाट परमेश्वर मुर्मु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजेन्द्रप्रसाद मण्डल र मंगोल नेशनल अर्गनाइजेसनबाट सकुन्तला श्रेष्ठ उम्मेदवार छन्।
त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० बाट गंगाप्रसाद गिरी सहित कूल २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
२०७९ को निर्वाचनमा मोरङ ५ मा दुईटा गठबन्धन थिए। एमाले र जसपा मिलेका थिए भने माओवादी, कांग्रेस, एकीकृत समाजवादीको अलग्गै गठबन्धन थियो। तर, ती दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जित हात पारे।
उनले २१ हजार ८२० मत प्राप्त गरेर जित्दा माओवादीका शिवकुमार मण्डल १७ हजार ४८६ मत पाएर दोस्रो बनेका थिए। जसपाका राजकुमार यादव १७ हजार ३९० मतसहित तेस्रो भएका थिए।
समानुपातिक तर्फ हेर्दा २०७९ मा यो क्षेत्रमा कांग्रेसले २४ हजार ६२९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, माओवादीले ७ हजार २२३, जनमत पार्टीले ३ हजार ६०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ४२५ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ९०७ मत प्राप्त गरेका थिए।
यसपटक सबै दलहरूले आ–आफ्ना उम्मेदवार खडा गरेका कारण मोरङ ५ मा रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। मधेशी समुदायको बाहुल्य रहेको मोरङ ५ मा धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्वर वडा र विराटनगर महानगरपालिकाको १३, १४, १५ , १६, १७ र १८ नम्वर वडा समेटिएको छ। यसपटक यो क्षेत्रमा कूल १ लाख १० हजार १७७ मतदाता छन्।
