फायल फोटो
काठमाडौं । ‘चुनाव बहिष्कार पनि केही समूहका लागि सजिलो कमाइको माध्यम जस्तै बनेको छ । जनतामा पुगेर संगठन विस्तार गर्नु नपर्ने, तर सीमित व्यक्तिहरू मिलेर बहिष्कारको प्रचार गर्ने र चन्दाको नाममा रकम असुल्ने प्रवृत्ति बढ्दै गएको छ,’ प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
९ फागुनमा बुटवल पुगेर सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनाव बहिष्कारको अभियान चलाउने समूहहरूमाथि गम्भीर टिप्पणी गरिन् । उनले संगठनात्मक आधार कमजोर भएका केही समूहले आफ्नो अस्तित्व जोगाउन र आर्थिक लाभ लिन चुनाव बहिष्कारलाई अवसरका रूपमा प्रयोग गरिरहेको संकेत गरिन् ।
निर्वाचनमा अवरोध पुर्याउन सक्ने समूहहरूमाथि कडा निगरानी राख्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उनले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्रीको निर्देशनपछि सुरक्षा निकायले पनि सम्भावित अवरोध सिर्जना गर्ने समूहहरूको निगरानी तीव्र पारेको जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार हाल १२ वटा विभिन्न समूह चुनाव बहिष्कार अभियानमा सक्रिय छन् । ती समूहबाट निर्वाचन सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने आकलन गरिएको छ । कम्युनिस्ट धारदेखि राजावादी विचारधारासम्मका समूहबाट चुनौती आउनसक्ने विश्लेषण प्रहरीको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको समूहसहित केही राजावादी तथा अन्य राजनीतिक समूहबाट पनि सुरक्षामा चुनौती देखिएको बताइएको छ ।
हाल प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनका समर्थकहरूद्वारा गठन गरिएको पीडीएफ (पब्लिक डिफेन्स फोर्स) र एटीएफ (एनी टाइम फोर्स) लाई पनि चुनाव अवरुद्ध गर्न सक्ने समूहको सूचीमा राखिएको छ ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि उनी निकट समूहहरूमाथि पनि निगरानी बढाइएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमा उनले राष्ट्रिय सहमति र समझदारीको आवश्यकता औंल्याएका थिए । उनले वर्तमान निर्वाचन प्रक्रियाले निकासभन्दा पनि द्वन्द्व, अशान्ति र खिचातानी निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।
