विराटनगर। पछिल्लो समय अपरिचित नम्बरबाट फोन गरी आफू बैंकको प्रतिनिधि भएको दाबी गर्दै सर्वसाधारणसँग खातासम्बन्धी विवरण, ओटीपी, पिन नम्बर तथा मोबाइल बैंकिङ जानकारी माग्ने घटनामा वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले यस्ता विषयमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिहरूले ‘तपाईंको केवाइसी अपडेट अधुरो छ’, ‘खाता बन्द हुन लाग्यो’, ‘डकुमेन्टमा समस्या देखियो’ जस्ता बहाना बनाउँदै सेवाग्राहीलाई झुक्याउने प्रयास गरिरहेका छन्। उनीहरूले ओटीपी तथा अन्य गोप्य कोड माग्नुका साथै वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत भिडियो कल गरी अनुहार देखाउन र बैंकको एप खोल्नसमेत दबाब दिने गरेका छन्।
सम्बन्धित निकायले यस्ता अपरिचित नम्बरबाट आउने फोन तथा सन्देशप्रति सजग रहन आग्रह गरेको छ। बैंकले कहिल्यै पनि फोन वा सन्देशमार्फत ओटीपी, पिन नम्बर वा पासवर्ड माग्ने नगर्ने स्पष्ट पारिएको छ।
कुनै शंका लागेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बैंकमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
