Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ३ मा के छ चुनावी गणित, कुन उमेदवारको एजेन्डा के ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ २५, २०८२  | अपराह्न १:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर-३ लामो समयदेखि कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’का रूपमा चिनिँदै आएको क्षेत्र हो । २०४८ सालदेखि २०७४ सम्म भएका सबै निर्वाचनमा (साबिक मोरङ–२) यस क्षेत्रबाट कम्युनिस्ट उम्मेदवारहरू लगातार विजयी हुँदै आएका थिए ।

तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उक्त परम्परा टुट्यो । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै कम्युनिस्ट गढ भत्काएका थिए । शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मतमा सीमित भए । ढकाल हाल एमालेका केन्द्रीय सचिव हुन् ।

बिज्ञापन

तीन वर्षअघि लालकिल्ला भत्काएका शर्मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट पुनः उम्मेदवार बनेका छन् । यसपटक भने उनलाई कम्युनिस्टभन्दा बढी गैर–कम्युनिस्ट उम्मेदवारबाट चुनौती देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ–३ मा शर्माविरुद्ध गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक चुनावी माहोल हेर्दा कार्कीले शर्मालाई कडा प्रतिस्पर्धा दिने संकेत देखिएको छ ।

यस्तै, एमालेबाट इरनकुमार राई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. देउमान सम्बाहाम्फे पनि बलिया प्रतिस्पर्धी मानिन्छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अमिर मगरलाई मैदानमा उतारेको छ । मोरङ–३ मा दल र स्वतन्त्र गरी कुल १८ जना उम्मेदवार छन् ।

 

 शर्माको एजेन्डा स्वास्थ्य

विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेस उम्मेदवार शर्माले यसपटक पनि स्वास्थ्य उपचारलाई मुख्य एजेन्डा बनाएका छन् । २०७९ कै निर्वाचनमा प्रयोग गरिएको ‘स्वास्थ्य सहुलियत कार्ड’ यसपटक पनि उनको प्रमुख चुनावी अस्त्र बनेको छ ।

निर्वाचन जितेपछि उनले मोरङ–३ का बिरामीका लागि नोबेल अस्पतालमा छुट्टै वार्ड स्थापना गरेका थिए । अहिले भने ‘होटलजस्तै सुविधा भएका बेडमा उपचार’ उपलब्ध गराउने आश्वासन दिँदै मत मागिरहेका छन् ।

उता रास्वपा उम्मेदवार गणेश कार्की पार्टी र राजनीतिक प्रणालीभित्र प्रश्न उठाउँदै आएका नेताका रूपमा परिचित छन् । उनले ‘सिस्टम बदल्ने’ नारासहित मतदातामाझ पुगिरहेका छन् । ठूला सपना बाँड्नेभन्दा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधानलाई प्राथमिकता दिने उनको भनाइ छ ।

एमाले उम्मेदवार राई र रास्वपा उम्मेदवार कार्कीले सुकुमबासी समस्या, दोहोरो स्वामित्व विवाद, सडक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारलाई प्रमुख एजेन्डा बनाएर चुनावी प्रचार गरिरहेका छन् ।

लालकिल्लामा   एमाले संकटमा

साबिक मोरङ-२ बाट स्वर्गीय भरतमोहन अधिकारीले २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा लगातार तीनपटक जित निकाल्दै ‘ह्याट्रिक’ गरेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुँदा तत्कालीन नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका चण्डिप्रसाद राईले जित हात पारे ।

संविधान निर्माणपछि निर्वाचन क्षेत्र पुनःसंरचना हुँदा पुरानो मोरङ–२ को भूगोललाई मोरङ–३ कायम गरियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल विजयी भएका थिए ।

तीन दशकसम्म कम्युनिस्टको पकडमा रहेको यो क्षेत्र २०७९ मा कांग्रेसका शर्माले जितेपछि एमालेको परम्परागत जनाधार कमजोर भएको देखिन्छ । यही कारण यसपटक एमालेलाई उम्मेदवार चयनमै सकस परेको थियो । सुरुमा पार्टीले पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीप राईलाई टिकट दिएको भए पनि उनले उम्मेदवारी दिन अस्वीकार गरेपछि अन्ततः बेलबारीका निजी विद्यालय सञ्चालक इरनकुमार राईलाई उम्मेदवार बनाइएको हो ।

यसपटक परिस्थितिमा थप परिवर्तन आएको छ । २०७४ मा एमाले र २०७९ मा कांग्रेसलाई सघाएको हालको नेकपा (तत्कालीन माओवादी केन्द्र) ले यसपटक आफ्नै उम्मेदवार डा. देउमान सम्बाहाम्फेलाई मैदानमा उतारेको छ ।

मोरङ–३ छाडेर एमाले सचिव ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन् । यद्यपि २०७९ को स्थानीय तह निर्वाचनमा पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचाका प्रमुख जितेको आधारमा एमालेले अझै पनि आफूलाई बलियो शक्ति मान्दै आएको छ ।

कांग्रेस उम्मेदवार शर्माको चुनावी आधार स्वास्थ्य सेवा नै बनेको छ । नागरिकताको भरमा मोरङ–३ का मतदातालाई नोबेल अस्पतालमा सहुलियत उपचार उपलब्ध गराउँदै उनले जनस्तरमा प्रभाव बनाएका छन् ।

यस निर्वाचनमा पनि ‘अस्पताल कार्ड’ नै उनको मुख्य एजेन्डा बनेको छ । तर पछिल्लो समय आएका उनका विवादास्पद अभिव्यक्तिले शिक्षित र युवा मतदातालाई भने आकर्षित गर्न नसकेको विश्लेषण गरिएको छ । यसको असर चुनावी नतिजामा कति पर्छ, त्यो भने मत परिणामले देखाउनेछ ।

असन्तुष्टिको मत खोज्दै कार्की

पुराना दलप्रति बढ्दो असन्तुष्टिलाई आधार बनाएर रास्वपा उम्मेदवार कार्कीले परिवर्तनको सन्देश फैलाइरहेका छन् । ‘स्वास्थ्यको लोभभन्दा व्यवस्था सुधार आवश्यक’ भन्ने नारासहित उनले शर्माको एजेन्डालाई चुनौती दिइरहेका छन् ।

मोरङ–३ मा मुख्य प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवार उच्च शिक्षित छन् । नेकपा उम्मेदवार डा. देउमान सम्बाहाम्फे ५८ वर्षीय अधिवक्ता तथा विद्यावारिधि प्राप्त व्यक्ति हुन् । कांग्रेस उम्मेदवार शर्मा ४८ वर्षीय एमबीबीएस डाक्टर हुन् । एमाले उम्मेदवार राई ५५ वर्षीय स्नातकोत्तर उत्तीर्ण हुन् ।

रास्वपा उम्मेदवार कार्की र राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्लेले पनि स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेसले २९ हजार ८५९, एमालेले २५ हजार २८, रास्वपाले १४ हजार ४०८ र राप्रपाले ९ हजार ३७२ मत प्राप्त गरेका थिए ।

यसपटक मोरङ-३ मा कुल एक लाख ५८ हजार ५७ मतदाता रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka