Premier Cables
Premier Steel

राजनीति

डा.शेखर कोइरालाः यथास्थितिवादी न रूपान्तरणकारी नेता !

धिरज दाहाल Calendar बुधबार, माघ २१, २०८२  | राती ९:२३ बजे

नेपाली कांग्रेसभित्र केही नेताहरू परिवर्तनको भाषणमा सबैभन्दा अगाडि देखिन्छन्, तर व्यवहारमा भने सबैभन्दा सुरक्षित ठाउँमा सुरक्षित उभिन्छन् । डा.शेखर कोइराला यही वर्गका प्रतिनिधि पात्र हुन् ।

उनी न यथास्थितिवादी भनेर सीधै खारेज गर्न मिल्छन्, नत रूपान्तरणकारी नेता भनेर सहज रूपमा स्वीकार गर्न सकिन्छ । उनी कांग्रेसभित्रको ‘सुरक्षित नेता’ को रुपमा परिचित छन् । यही बीचको असहज अवस्थाले उनको राजनीतिक जीवनलाई आजसम्म परिभाषित गर्दै आएको छ।

पछिल्लो विशेष महाधिवेशनले यो यथार्थ झन् स्पष्ट बनाइदिएको छ-शेखर कांग्रेसका असन्तुष्टहरूका नेता हुन्, तर परिवर्तनका अगुवा होइनन्।

विशेष महाधिवेशन कांग्रेसका लागि सामान्य अवसर थिएन । त्यो पार्टीभित्र जमेको असन्तोष, नेतृत्वप्रतिको वितृष्णा र वैचारिक दिशाहीनता विरुद्धको औपचारिक विस्फोटन थियो। प्रतिनिधिहरू स्पष्ट थिए—अब भाषण होइन, निर्णय चाहिन्छ।

तर यही क्षणमा शेखरको भूमिका फेरि पनि दोधारे देखियो । उनले आफूलाई सुरक्षित वितरण गराए । उनले बोले, तर तोडेनन् । आलोचना गरे, तर नेतृत्वलाई हल्लाउन चाहेनन् । विकल्प देखाए, तर जोखिम मोल्ने साहस देखाएनन् ।

राजनीतिमा कहिलेकाहीँ मौन पनि निर्णय हुन्छ । तर यहाँ मौनता कमजोरी बन्यो।

विशेष महाधिवेशनले देखायो-शेखर निर्णायक मोडमा आएर पनि सहमतिको छायाँमा लुके।

शेखर कोइरालाको राजनीतिक यात्रा हेर्दा एउटा स्थायी छवि देखिन्छ-उनी असन्तोषको प्रतिनिधित्व गर्छन्, तर त्यसलाई निष्कर्षमा पु¥याउँदैनन्। कांग्रेसभित्र गुटीय राजनीति कमजोर होइन, संस्थागत छ। र त्यो संस्थागत असन्तोषको एउटा प्रमुख स्तम्भ नै यही शैली हो।

विशेष महाधिवेशनमा असन्तुष्ट समूहले निर्णायक हस्तक्षेप खोजेको थियो। तर त्यो असन्तोष फेरि पनि बैठक, छलफल र वक्तव्यमा सीमित रहन गयो । नेतृत्वको पेलाईलाई भनाइमा ठिक होइन भन्ने तर ठिक के हो भनेर हस्तक्षेप गर्न नसक्ने ‘लुरे स्वभाव’ शेखरमा देखिन्छ । उनले आफ्नैलाई पनि सन्तुलनमा राख्न नसक्नु यसकै उदाहारण हो ।

वंश, नाम र राजनीतिक पूँजी

कोइरालाको राजनीतिक पहिचानबारे कुरा गर्दा एउटा असजिलो प्रश्न टार्न सकिँदैन-नामको राजनीति। यो प्रश्न व्यक्तिगत होइन, संरचनागत हो। कांग्रेसभित्र आजपनि नेतृत्वको यात्रा सबैका लागि समान छैन।

विशेष महाधिवेशनमा धेरै प्रतिनिधिले खुलेर प्रश्न उठाए-“के कांग्रेस साँच्चै सबैका लागि खुला छ?” यो प्रश्नको उत्तर भाषणमा होइन, अभ्यासमा खोजिन्छ। र अभ्यास हेर्दा शेखर जस्ता नेताहरूले पाएको निरन्तर अवसर संयोग मात्र भन्न गाह्रो पर्छ।

नाम आफैंमा अपराध होइन। तर नामले आलोचनाबाट जोगाउनु लोकतन्त्र होइन।

सदनमा फिक्का उपस्थिति

शेखरको अर्को कमजोर पक्ष भनेको कार्यकारी प्रभावको अभाव हो। सरकारमा हुँदा पनि उनी निर्णायक नीतिगत हस्तक्षेपको केन्द्रमा देखिएनन्। न त संसदमा प्रभावकारी सासंद बने ।

प्रतिपक्षमा हुँदा पनि उनी जनआन्दोलनको अगुवा बन्न सकेनन्। जनताको प्रतिनिधि भएर गएका उनले संघीय संसदमा बोलेका विषय उनकै मतदाता र समर्थकलाई याद छैन् ।

तीन वर्षमा मुस्किलले तीन पटक पनि प्रतिनिधि सभामा जनताका भावना मुखरित नगरेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । पार्टी केन्द्रीय समितिमा प्रस्टसँग नबोल्ने, प्रतिनिधि सभामा जनताका कुरा राख्दै नराख्ने उनी बाहिर मिडियामा भने बोल्न रुचाउँछन् ।

विशेष महाधिवेशनपछि पनि यही स्थिति दोहोरियो। कांग्रेस उदार बन्दैछ, सुध्रदैछ भन्ने गगन विश्वले प्रस्ट सन्देश दिईसकेका छन् । तर शेखरको राजनीतिक उपस्थिति अझै पनि पार्टीभित्रको समीकरणमै सीमित देखिन्छ।

शेखर कोइरालाले तीन वर्षमा मुस्किलले तीन पटक पनि प्रतिनिधि सभामा जनताका भावना मुखरित नगरेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।

समर्थकले उनलाई राष्ट्रिय नेताको पगरी भिराएका छन् । तर, त्यो बन्न संकटमा स्पष्ट उभिनुपर्छ भन्ने स्पष्टता कतै पनि देखिँदैन।

युवा पुस्ताबाट टाढिएका नेता

कांग्रेसको सबैभन्दा ठूलो संकट भनेको युवासँगको दूरी हो। विशेष महाधिवेशनमा युवाले प्रश्न सोधे—रोजगारी, विदेश पलायन, भ्रष्टाचार, राजनीतिक अवसर। तर तिनको उत्तर पुरानै भाषामा आए।

शेखरको राजनीतिक शैली आजको पुस्तासँग संवाद गर्न असफल देखिन्छ। उनी सम्मानित छन्, तर प्रेरणादायी छैनन्। यो अन्तर नै भविष्यको राजनीतिमा निर्णायक हुन्छ। आजको राजनीतिक भावनामा मात्र होइन, ऊर्जाको समीश्रण पनि हो । त्यो ऊर्जा उनी र उनका समर्थक अनि आसेपासेमा पनि रत्तिभर देखिदैन ।

विशेष महाधिवेशनपछि अपेक्षा थियो-शेखर कोइराला झन् आक्रामक हुन्छन्, विकल्प दिन्छन्, स्पष्ट रणनीति ल्याउँछन्। तर त्यसो भएन। फेरि उही संयम, उही सन्तुलन, उही प्रतीक्षा।

राजनीतिमा प्रतीक्षा कहिलेकाहीँ कायरता पनि हुन्छ। उनको अवस्था त्यही देखियो ।

चुनावी नेतृत्वको प्रश्न

कांग्रेसले आगामी चुनावमा कसलाई अगाडि सार्ने? यो प्रश्न विशेष महाधिवेशनपछि झन् पेचिलो भयो। तर शेखर कोइरालाबाट त्यो चुनावी आत्मविश्वास झल्किएन। जित्ने होइन, टिक्ने रणनीति हावी देखियो।

भिड उकास्न सक्ने नेतृत्वबिना चुनाव जितिँदैन। र भीड उकास्ने भाषा, शैली र साहसको अभाव देखिन्छ । उनी एकताको कुरा गर्छन तर विभाजनलाई निरन्तरता दिन्छन् । उनको स्थानीय नेतृत्वको विभाजन त्यसकै उदाहारण हो ।

विराटनगर मिलाउन नसक्ने नेताले देश कसरी मिलाउन सक्छन् भन्ने प्रश्न त छँदैछ ।

व्यवहारमा गुटीय दूरी घटेको देखिँदैन। विशेष महाधिवेशनपछि पनि कांग्रेसभित्र शक्ति सन्तुलन उही छ । असन्तुष्ट समूह असन्तुष्ट नै, नेतृत्व सुरक्षित नै।

एकताको नेतृत्व भाषणले होइन, त्यागले देखिन्छ। त्यो त्याग देखिएन। किनकि शेखरले आफ्ना समुहका १९ जना सदस्यहरुलाई टिकट दिलाउन दैनिक कसरत नै खेले ।

आफै उमेदवार समेत बने । जबकी गगन विश्वलाई कार्वाही गर्नुपर्छ भन्ने अग्रमोर्चामा उनी आफै थिए । तत्कालीन संस्थापन पक्षलाई हुक्के लगाएका थिए । तर, गगनको हस्ताक्षर भएको पार्टीको टिकट लिएर मनोनयन दर्ता गराउन विराटनगर आए ।

डा. शेखरको राजनीति आज एउटा चोकमा उभिएको छ। अब उनी सधैं विकल्प भएर बस्ने कि एकपटक निर्णयकर्ता बन्ने-यो छनोट उनको हातमा छ।

विशेष महाधिवेशनले संकेत दिएको छ-कांग्रेसलाई अब सुरक्षित नेता होइन, साहसी नेतृत्व चाहिएको छ। यदि शेखरले अब पनि जोखिम लिएनन् भने, इतिहासले उनलाई परिवर्तनको प्रतीक होइन, परिवर्तन टार्ने बुद्धिजीवीका रूपमा सम्झनेछ।

इतिहास कठोर हुन्छ, त्यो न भावना बुझ्छ, न नाम, त्यसले केवल निर्णय सम्झिन्छ। संस्थागत उपलब्धिलाई नमन गर्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka