काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नयाँ मुद्दा दायर गर्दै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि प्रतिवादी बनाएको छ। यससँगै यो प्रकरणमा मुछिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ।
यसअघि अख्तियारले गत वर्ष मंसिरमा तत्कालीन पाँच मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीविरुद्ध मुद्दा दर्ता गरेको थियो। बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ।
बिहीबार दायर गरिएको नयाँ मुद्दामा कार्कीसहित १४ जनाविरुद्ध अभियोग लगाइएको छ। अन्य प्रतिवादीहरू अधिकांश उच्चपदस्थ कर्मचारी रहेका छन्।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजश्व छुट दिई राज्यलाई नोक्सानी पुर्याइएको आरोपमा मुद्दा दायर गरिएको हो। अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।
मुद्दामा तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य र दुण्डुराज घिमिरे, तत्कालीन सहसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी लगायतलाई पनि प्रतिवादी बनाइएको छ।
साथै उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालविरुद्ध पनि अभियोग दर्ता गरिएको छ।
