विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका–५ स्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मंगलबार मृत अवस्थामा फेला परेका छन्।
आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङको शव उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत सडकको नालीमा भेटिएको हो।
मोरङको केराबारी गाउँपालिका–१० स्थायी घर भएका तामाङ हाल अरुण तेस्रो आयोजनाको ड्यामसाइडमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार उनी मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको बताए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।
तामाङको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
