काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा सञ्चालन भइरहेको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा हालसम्म थापाको मात्रै उम्मेदवारी परेको छ ।
स्रोतका अनुसार अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।
यसअघि बुधबार बिहान सहमतिको प्रयासस्वरूप थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए । तर उक्त वार्ता निष्कर्षविहीन भएको बताइएको छ ।
सबै पदमा मनोनयन दर्ता भए पनि महामन्त्रीद्वय थापा र शर्मा हाल कानुनविद्हरूसँग परामर्शमा रहेका छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ र दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ ।
