Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा ग्याँस सिलिन्डर विष्फोट हुँदा नौ जना नेपालीको मृत्यु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको ज्यान गएको छ। उक्त घटना भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की क्षेत्रमा भएको हो।

राति सुतिरहेको समयमा अचानक पसलमा आगलागी हुँदा त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट भएका थिए। घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक तथा ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले जानकारी दिए।

धनबहादुर विक र काशिराम विकका परिवार पसलमाथिको कोठामा बसोबास गर्दै आएका थिए। कामबाट फर्किएर सुतिरहेका बेला २७ गते राति आगलागी भएको बताइएको छ। सिलिन्डर विस्फोटका कारण मृतकहरूको शव अत्यन्तै क्षतविक्षत भएकाले पहिचान गर्नसमेत कठिन भएको जनाइएको छ।

आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतिरहेका प्रेम विक, राजेन्द्र विक, गंगाराम विक र एक जना अन्य व्यक्ति गरी चार जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए। हाल हिमाचल प्रदेशको सोलान जिल्लाका सुरक्षाकर्मीहरूले शव संकलनको काम गरिरहेका छन्। सिलिन्डर विस्फोटका कारण शव टुक्राटुक्रा भएकाले संकलनमा कठिनाइ भइरहेको प्रेम विकले बताए।

घरको आर्थिक अवस्था कमजोर भएकाले जीविकोपार्जनका लागि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल प्रदेश गएर मजदुरी गर्दै आएका थिए। सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकको फोनमार्फत घटनाबारे जानकारी पाएको बताए।

दुई परिवारका नौ जनाको ज्यान गएपछि पूरै वडा शोकमा डुबेको छ। पालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।

शव संकलनको काम जारी रहेकाले भारतमै दाहसंस्कार गर्ने वा नेपाल ल्याउने भन्ने विषयमा सोलानको अर्की क्षेत्रमा रहेका स्थानीयसँग छलफल भइरहेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka