विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।
सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम दिइएको हो । तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उदघाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारीसम्बन्धी ऐन कानुनसहित लेखासम्बन्धी तालिम दिँदा सहकारीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित मर्यादित बनाउन महानगरले विगतदेखि नै तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विगतमा सहकारीप्रतिको धारणा नकारात्मक रहेको उल्लेख गर्दै बचतकर्ता र ऋणीको विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
तालिममा लेखा सुरपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार, सहकारीको वित्तीय स्रोत परिचालन तथा कोष व्यवस्थापन, लेखा समितिको भूमिका, त्रैमासिक र वार्षिक प्रतिवेदन प्रणालीलगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । तालिममा सहभागीहरुलाई सहकारी विज्ञ नविन मैनालीले सहजीकरण गरेका थिए ।
तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका ३५ वटा सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु सहभागी भएको सहकारी शाखाकी रोजी कार्कीले बताइन् । उनका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा छन् । अन्य सहकारीका पदाधिकारीहरुलाई पनि क्रमैसँग तालिम दिइने महानगरले जनाएको छ ।
