काठमाडौँ | राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म सरकारी कार्यालयको अनुगमनका क्रममा ११ हजार चार जना कर्मचारी कारबाहीमा परेका हुन्।
केन्द्रका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार सो अवधिमा सरकारी कार्यालय तथा कर्मचारीसँग सम्बन्धित एक हजार २९८ उजुरी दर्ता भएका थिए। तीमध्ये एक हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी हो।
गत वर्ष २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४ दशमलव १० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए।
वर्तमान सरकार गठनपछि अघि सारिएको शासकीय सुधारका १०० बुँदामा कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने विषय समेटिएको थियो। सोहीअनुसार केन्द्रले सरकारी कार्यालयको अनुगमन र कारबाहीलाई कडाइ गरेको जनाएको छ।
केन्द्रका अनुसार पछिल्लो चार महिनामा ९२४ सरकारी कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यालयमा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी कारबाहीमा परेका छन्।
केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।
यसैगरी, २०८१ चैतदेखि २०८२ साउनसम्म ३१८ कार्यालयको अनुगमन गर्दा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारी अनुशासन उल्लङ्घनमा परेको केन्द्रले जनाएको छ।
सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। आगामी दिनमा छानबिन, निगरानी, अनुगमन, छड्के जाँच तथा अनुसन्धानमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र डेटा विश्लेषणको प्रयोग बढाउने तयारीसमेत गरिएको छ।
त्यस्तै, ‘हेलो सरकार’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने तथा संशोधित भ्रष्टाचार निवारण ऐनअनुसार केन्द्रसँग सम्बन्धित नियमावली, निर्देशिका र कार्यविधि अद्यावधिक गर्ने तयारी रहेको केन्द्रले जनाएको छ।
