काठमाडौं । नेपाल जेनजी फ्रन्ट (रक्षा बम) समूहले केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट देशव्यापी जागरणसभा अभियानको सुरुवात गरेको छ । भदौ २३ र २४ गते सम्पन्न प्रदर्शनमा सहभागी युवालाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट जागरणसभा आरम्भ गरिएको हो ।
जेनजी फ्रन्टको सूचना तथा प्रविधि शाखाका अगुवा यतिष ओझाका अनुसार सरकार र जेनजी आन्दोलनकारीबीच भएको सहमतिपछि नयाँ चरणको अभियान सुरु गरिएको हो । उनले भदौ २३ र २४ पछाडि जेनजी आन्दोलन कमजोर भएको भन्ने भ्रम फैलिएको उल्लेख गर्दै त्यसलाई चिर्न देशव्यापी जागरणसभा आयोजना गरिएको बताए ।
“आज झापा क्षेत्र नम्बर–५ मा जागरणसभा सम्पन्न भएको छ । जेनजी आन्दोलन सेलाएको भन्ने धारणा गलत हो । हामी अझै सडकमै छौँ । देशभरका जेनजी साथीहरूसँग भेटघाट, सहकार्य र नेतृत्व विकासका लागि यो अभियान केन्द्रित छ,” ओझाले भने ।
जागरणसभामा फ्रन्टका संयोजक रक्षा बम, सदस्य यतिष ओझा तथा काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङको सहभागिता रहेको थियो ।
