झापा, इलाम र पाँचथर जोड्ने रावि-राँके सडकको निर्माणाधीन सडक
विराटनगर । कोसी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १० अर्ब रुपैयाँबराबरका दुई हजार आयोजना ठेक्का प्रक्रियामा लगेको छ ।
मन्त्रालयलले जनाएअनुसार स्रोत सुनिश्चित भइसकेका वहुवर्षीय योजनाबाहेक कुल १९४८ वटा योजना ठेक्का प्रक्रियामा गएका छन् ।
मन्त्रालयका अनुसार मंसिर २० भित्र सबै योजना ठेक्का प्रक्रियामा लैजान निर्देशन दिइएको थियो । भौतिक पूर्वाधार तथा विकासमन्त्री भूपेन्द्र राईले भने, “यसबाट सकारात्मक परिणाम देखिएको छ । कतिपय जिल्लाको प्रगति ९७ प्रतिशतसम्म छ ।”
मन्त्री राईले आर्थिक वर्षको अन्तिम चौमासमा ठेक्का लगाउने प्रवृत्ति अन्त्य गर्न आर्थिक वर्षको सुरुवातबाटै काम थालिएको बताए ।
उनका अनुसार गत असोज महिनामा बाढीपहिरोबाट बढी प्रभावित भएको इलामबाहेकका जिल्लामा ठेक्काको प्रगति उल्लेख्य भएको बताए ।
उनले भने, “त्यहाँ संघीय सरकारबाट समेत काम हुने भएकाले केही ढिलो भएको देखिएको छ । तर, प्रक्रिया भने सुरु भइसकेको छ ।”
बाँकी कतिपय जिल्लामा जग्गा विवाद देखिएको मन्त्री राईले बताए । बहुवर्षीय योजना सिफारिस हुन बाँकी रहेकाले ती पनि चाँडै टुंगो लाग्ने उनको भनाइ छ ।
कोसीमा विगतमा वैशाख–जेठमा पनि ठेक्का खुल्ने गरेको थियो । कतिपय मसिना र साना योजना कोटेसनमार्फत गराइने गरेकामा त्यसलाई मन्त्रालयले रोक लगाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार रकम विनियोजनका आधारमा सोलुखुम्बुमा ९७.१५, मोरङमा ९५.७४, उदयपुरमा ९२.१०, खोटाङमा ९० र पाँचथरमा ८० प्रतिशत, ताप्लेजुङमा ७९.४९, भोजपुरमा ७५.०६,
धनकुटामा ७५.५४, सुनसरीमा ७३.४४, तेह्रथुममा ७०.७६, संखुवासभामा ६६.२१, झापामा ६६, ओखलढुंगामा ६४.२१ र इलाममा ५३.१६ प्रतिशत योजना ठेक्का प्रक्रियामा गएका छन् ।
यसैगरी, योजना संख्याका अधारमा इलाममा सबैभन्दा कम १५.७०, संखुवासभामा ४६.३०, झापामा ५१, धनकुटामा ५९, सुनसरीमा ६१.४८, मोरङ ६२.४८ र पाँचथरमा ६३.६१ प्रगति देखिएको मन्त्रालयले जनाएको छ ।
खोटाङमा ७२, तेह्रथुम ७४.२९, ओखलढुंगा ७८.३३, भोजपुरमा ८२.२८, उदयपुर ८२.२८, सोलुखुम्बु ८७ र ताप्लेजुङमा ९४.२३ प्रतिशत प्रगति देखिएको बताइएको छ ।
