Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

च्याट जिपिटीभन्दा गुगल जेमिनाई अगाडि, के हो कारण ?

Calendar बिहिबार, मंसिर ११, २०८२  | अपराह्न १:०३ बजे

काठमाडौ । पछिल्ला केही दिनयता एआई प्रतिस्पर्धामा गुगलले उल्लेखनीय उछाल मारेको छ।

गत साता सार्वजनिक भएको गुगलको जेमिनाई–३ च्याटबोटले तार्किक विश्लेषणदेखि कोडिङसम्मका क्षेत्रमा ओपन–एआईको च्याटजीपीटीलाई पछाडि पारेको प्रविधि विज्ञहरूले बताएका छन्। त्यसपछि गुगलका आफ्नै चिप्सले एआई हार्डवेयर क्षेत्रमा अग्रणी मानिएको एनभिडियालाई टक्कर दिएको खबर आएपछि बजारमा थप हलचल देखियो।

बिज्ञापन

एआईका लागि उच्च गुणस्तरका चिप्स बनाउने कम्पनीको रूपमा एनभिडिया लामो समयदेखि एक्लो अग्रस्थानमा थियो। यही कारण बजार मूल्यका हिसाबले पनि कम्पनी विश्वकै सबैभन्दा ठूलोमध्ये थियो। तर जेमिनाईको सफलता र गुगलका नयाँ चिप्सको प्रभाव देखिनासाथ एनभिडियाको सेयर मूल्यमा उल्लेखनीय गिरावट आयो। यसको विपरीत, गुगलको माउ कम्पनी अल्फाबेटको सेयर मूल्य तीव्र गतिमा बढ्दै गएको छ, र केही विश्लेषकहरूले गुगल छिट्टै एनभिडियालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो कम्पनी बन्न सक्ने दाबी गरेका छन्।

गुगलको यो उछाल अमेरिकी अदालतले गत सेप्टेम्बरमा गरेको निर्णयसँग पनि जोडिएको छ। एप्पलका उपकरणमा आफूलाई डिफल्ट सर्च इन्जिन राख्न गुगलले ठूलो रकम तिरेर प्रतिस्पर्धा कमजोर बनाएको आरोपमा परेको मुद्दामा अदालतले गुगल अनलाइन खोजी र विज्ञापन क्षेत्रमा अवैध एकाधिकार कायम गरेको ठहर गर्यो। तर उसलाई क्रोम ब्राउजर बेच्न नपर्ने र एन्ड्रोइड ओएस कायम राख्न पाउने अनुमति दियो, साथै केही डेटा प्रतिद्वन्द्वीलाई बाँड्नुपर्ने आदेश दियो। क्रोम र एन्ड्रोइड दुवै अत्यधिक कमाइ हुने उत्पादन भएकाले यो फैसला गुगलका लागि ठूलो राहत बन्यो। यही निर्णयपछि अल्फाबेटको बजार मूल्य करिब १३ खर्ब डलरले बढेर ३९ खर्ब डलर पुगेको थियो।

एआई क्षेत्रमा गुगलको प्राविधिक सफलता जेमिनाई–३ मा पनि देखिन्छ। २०१४ मा किनेको बेलायती कम्पनी डिपमाइन्डले पुर्‍याएको अनुसन्धानात्मक योगदान जेमिनाईको क्षमताको मुख्य आधार मानिन्छ। यससँगै गुगलको विशाल वित्तीय शक्ति र लगातार लगानीले पनि जेमिनाईलाई प्रतिस्पर्धामा अघि बढायो। ओपन–एआई गैरनाफामूलक संस्था भएर बाह्य लगानीकर्तामा निर्भर रहनुपरेको बेला गुगलले आफ्ना स्रोत र कमाइ नै प्रयोग गरेर एआई विकासमा ठूलो रकम बगाएको छ। पछिल्लो समय विभिन्न कम्पनीहरूले उच्च तलब दिँदै एआई विशेषज्ञ तानिरहेका बेला पनि गुगलले आफ्ना शीर्ष विज्ञहरूलाई कायम राख्न सफल भएको छ।

गुगलले क्रोम, एन्ड्रोइड र युट्युबका विशाल प्रयोगकर्ता डेटा जेमिनाईको प्रशिक्षणमा प्रयोग गरेका कारण पनि पछिल्लो मोडेल अत्यन्त सक्षम बनेको मानिन्छ। अन्य प्रतिस्पर्धीले यस्तो स्तरको डेटा पहुँच पाउँदैनन्। जेमिनाई प्रशिक्षणमा गुगलले बाह्य आपूर्तिकर्ताको चिप्स प्रयोग नगरी आफ्नै ‘टेन्सर प्रोसेसिङ युनिट्स’ (TPU) प्रयोग गरेको छ। यी TPU एनभिडियाका GPU भन्दा फरक तर एआईका लागि बढी उपयुक्त हुने दाबी गरिन्छ। ‘द इकोनोमिस्ट’का अनुसार उस्तै क्षमताको एनभिडिया चिप्सभन्दा गुगलका चिप्स दुईदेखि १० गुणासम्म सस्ता पर्ने भएकाले अन्य कम्पनी पनि ती प्रयोग गर्न आकर्षित हुन थालेका छन्।

एन्थ्रोपिकले आफ्नो च्याटबोट क्लाउडका लागि १० लाख TPU प्रयोग गर्न अर्बौँ डलरको सम्झौता गरिसकेको छ, र मेटाले पनि गुगलका चिप्स किन्न छलफल गरेको खबर आएपछि एनभिडियाको सेयर मूल्य एकै दिनमा एक खर्ब डलरले खस्यो। केही विज्ञहरूले एआई प्रशिक्षणका केही चरणमा TPU GPU भन्दा अझ राम्रो काम गर्छ भन्ने तर्क गरेका छन्, किनकि GPU मूलतः भिडियो गेमका लागि डिजाइन गरिएको थियो, जबकि TPU एआईकै लागि बनाइएका हुन्। यदि यो धारणा सही ठहरिन्छ भने अन्य कम्पनी पनि क्रमशः एनभिडियाबाट गुगलतर्फ सर्ने सम्भावना बलियो छ, जसले गुगललाई एआई उद्योगमा अझ मजबुत बनाउनेछ।

तर सबै कुरा एकतर्फी सकारात्मक छैन। एनभिडियाका चिप्स सबै प्रकारका प्रणालीमा सहज चल्ने गरी बनाइएका छन्, विशेषगरी CUDA सफ्टवेयर प्लेटफर्मले सबैलाई सहयोग गर्छ। गुगलका चिप्स भने मुख्यतः जेमिनाईकै लागि अनुकूलित भएकाले अन्य कम्पनीले प्रयोग गर्दा के–कस्ता अप्ठ्यारो आउँछन् भन्ने स्पष्ट छैन। अहिले नै धेरै कम्पनीहरूले TPU व्यापक रूपमा अपनाएका छैनन्, त्यसैले वास्तविक चुनौती के हुने हो भन्ने भविष्यमै थाहा हुनेछ। साथै, ओपन–एआई वा अन्य कुनै कम्पनीले चाँडै नै जेमिनाईभन्दा राम्रो मोडल ल्याउने सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन।

यद्यपि यी सबैका बीचमा एक सत्य स्पष्ट देखिन्छ—गुगलले एनभिडियाकै स्तरका चिप्स आफैं सस्तो मूल्यमा उत्पादन गरेर जेमिनाईमा प्रयोग गर्न थालेपछि एआई प्रतिस्पर्धामा उसलाई पछ्याउनु अरूका लागि निकै कठिन हुँदै गएको छ। गुगलको चिप्स, डेटा, अनुसन्धान र वित्तीय शक्ति एकै ठाउँमा मिलेर एआई दौडमा उसलाई अभूतपूर्व उचाइमा पुयाउन थालेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka