काठमाडौं । जनार्दन शर्माको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत् एकता घोषणा सभा’ आयोजना गर्दैछ। कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे सुरु हुने भएको छ।
उक्त सभामा बाबुराम भट्टराईद्वारा स्थापित र हाल दुर्गा सोबको नेतृत्वमा रहेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलबाट बनेको र हाल सुदन किराँतीले नेतृत्व गरिरहेको प्रगतिशील लोकतान्त्रिक पार्टी, तथा रास्वपा त्यागेका पूर्व प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको समूहबीच औपचारिक एकता घोषणा हुने छ।
एकता प्रक्रियासम्बन्धी सहमति पत्रमा यसअघि नै तीन पक्षले हस्ताक्षर गरिसकेका छन्। सोही सहमति अनुसार आज सार्वजनिक सभामार्फत एकता घोषणा गर्न लागिएको हो।
एकता घोषणा अघि शनिबार त्रिपुरेश्वरमा भेला बसेर प्रस्तावित एकतालाई अनुमोदन गरिएको थियो।
पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीलगायतका दलहरूसँग एकता गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्मा त्यसबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको तयारीमा लागेका थिए। हालसम्म उनले आफू सदस्य मात्र रहने भन्दै पार्टी नेतृत्व सुदन किराँतीलाई जिम्मा दिएका छन्।
