काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो।
बीबीसी हिन्दीका अनुसार, दिल्लीका धेरै क्षेत्रहरूमा प्रदूषणको स्तर अत्यन्तै चिन्ताजनक बनेको छ र कतिपय स्थानमा एक्यूआई ४०० भन्दा माथि पुगेको छ। सीपीसीबीका तथ्यांकअनुसार आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ। त्यस्तै, चाँदनी चोकमा एक्यूआई ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ पुगेको छ।
यसअघि शनिबार पनि दिल्लीमा हावाको गुणस्तर बिहानैदेखि ‘धेरै खराब’ श्रेणीमै थियो। त्यसबेला बिहान ८ बजे दिल्लीको औसत एक्यूआई ३५५ रेकर्ड गरिएको थियो। विशेषज्ञहरूले लगातार बढ्दो वायु प्रदूषणले बालबालिका, वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीहरूका लागि स्वास्थ्य जोखिम उच्च बनाएको चेतावनी दिएका छन्।
