काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदोका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। अवरोध हटाउन समय लाग्ने भएकाले पूर्व जाने गाडीहरू काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन्।
अविरल वर्षाले गर्दा बीपी राजमार्गका चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेको छ जसले गर्दा सडक अवरुद्ध भएको हो।
बिज्ञापन
त्यसैगरी, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा पुनः माथिबाट पहिरो खसेको छ। पानी परिरहेकाले जोखिम बढेको बताउँदै उनले हालको लागि पहिरो पन्छाउने काम रोकिएको जानकारी दिएका छन्।