Premier Cables
Premier Steel

कोशी प्रदेश

इलाममा विमानस्थल त बन्यो, प्लेन चाँहि उडेन !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । पूर्वी पहाडी क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३३ वटा उडान भएका यो विमानस्थलमा हाल कुनै पनि उडान भइसकेको छैन।

इलाम नगरपालिका-९ मा रहेको यो विमानस्थलबाट नियमित उडानको माग स्थानीय बासिन्दाले गर्दै आएका छन्। तर, हाल नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडका नागरिक झापा वा विराटनगर पुगेर हवाई सेवा लिन बाध्य छन्।

बिज्ञापन

२०७५ जेठ २१ गते तारा एयरले ट्विनअटर विमानमार्फत पहिलो परीक्षण उडान भरेको थियो। त्यसपछि २०७८ माघ २६ गते नेपाल एयरलाइन्सले पनि सफल परीक्षण उडान गरेको थियो। सुरुवाती दिनमा तारा एयरले हप्तामा दुईपटक (बुधबार र शनिबार) उडान सञ्चालन गर्थ्यो।

इलाम नगरपालिकाले काठमाडौँ फर्कँदा जहाजको खाली सिटको भाडा बेहोर्ने सर्तमा तारा एयर र पछि नेपाल एयरलाइन्ससँग सम्झौता गरी उडान निरन्तरता दिएको थियो। तर सम्झौताको अवधि सकिएपछि हालसम्म कुनै नयाँ सहमति भएको छैन।

इलामका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले नगरपालिकाले पहिले केही वर्ष उडानको खर्च सहयोग गरे पनि अहिले कुनै दायित्व नरहेको बताए। उनका अनुसार, “हाल कुनै एयरलाइन्ससँग सम्झौता भएको छैन।”

नेपाल एयरलाइन्सले सम्झौता सकिएपछि पनि हप्तामा एकपटक उडान जारी राखेको थियो। तर २०८२ जेठ १४ यता खराब मौसमका कारण उडान बन्द भएको इलाम विमानस्थलका स्टेशन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए।

इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार विमानस्थल पुनः सञ्चालन गर्न नगर कार्यपालिकाको बैठकमा पटक-पटक छलफल भइरहेको छ। तर कहिले विमान बिग्रिने त कहिले मौसमको समस्या देखाउँदै दीर्घकालीन समाधानमा पुग्न सकिएको छैन।

विमानस्थल निर्माणका लागि प्रक्रिया २०५८ सालमै सुरु गरिएको थियो। करिब ३२८ रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको कालोपत्रे धावनमार्ग छ।

तर, स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग र सुरक्षा तारबारजस्ता संरचना अझै अपूरा छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, अहिलेसम्म विमानस्थलमा २८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ, जसमध्ये चार करोड स्थानीयबाट संकलन गरिएको हो।

विमानस्थल निर्माणका लागि स्थानीयले एकदेखि ४२ रोपनीसम्म जग्गा निःशुल्क दिएका थिए। २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए भने २०७८ फागुन १ गते उनले नै उद्घाटन गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka