






विराटनगर । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासन व्यवस्था र संविधान सम्पूर्ण नेपाली जनताको भावना अनुसार बन्न नसकेको गुनासो गरेका छन्। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सात–सात वटा संविधान बने पनि देश अझै पनि सबैको साझा राष्ट्र बन्न नसकेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
उनले देश नबनेको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने तर्क गरे । भने,‘‘उनीहरुले नै नबनाएको हो, जिम्मेवारी पनि लिनुपर्छ ।’
“जनताको भावना समेट्न नसक्ने संविधान बन्यो भने त्यसको जिम्मेवारी कसले लिने?” अध्यक्ष महतोले प्रश्न गर्दै भने, “बनेको भए पनि बिग्रिएको भए पनि त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ।”
उनले नेपालको विविधता र बहुल पहिचानलाई नस्वीकार्ने राजनीतिक प्रवृत्तिलाई देश असफल हुनुको मूल कारणको रूपमा देखाए। “हामी सबै नेपालीलाई एउटै ढाँचामा अट्याउन खोज्यौं, सबैको पहिचान मेटाएर एउटै बनाउने प्रयास गर्यौं, यही नै हाम्रो दुर्भाग्य बन्यो,” उनले स्पष्ट पारे।
महतोका अनुसार नेपाल एउटा साझा फुलबारी हो, जहाँ विभिन्न जाति, भाषा, संस्कृति र क्षेत्रका जनताहरूको साझा सहभागिता र पहिचानबाट राष्ट्र बनेको हो। तर पृथ्वीनारायण शाहपछि कुनै पनि शासकले यस ‘साझा फुलबारी’ बनाउने प्रयास नगरेको उनले बताए।
“नेपाल जब बनेको थियो, त्यो एउटै पहिचानले होइन, वहुपहिचान मिलेर बनेको थियो। तर संविधान र शासकहरूले त्यो आत्मसात गरेनन्। त्यसैले नेपाल सबैको देश बन्न सकेन,” महतोले भनाइ राखे।
उनले नेपाल अहिले विश्वकै गरिब राष्ट्रको रूपमा चिनिनु दुःखद विडम्बना भएको बताए। “देश समृद्ध बन्न सक्थ्यो, प्रकृतिले पनि बरदान दिएको छ—पानी, पर्यटन, कृषि सबै सम्भावना छन्। तर शासन प्रणाली ठीक नभएपछि युवाहरू विदेश जान बाध्य छन्,” उनले दुःख व्यक्त गरे।
उनले अमेरिकाको एकमात्र संविधान र भारतको बारम्बार संशोधित संविधानलाई उदाहरण दिँदै भने, “उनीहरू समृद्धिको बाटोमा छन्, तर हामी सातवटा संविधान बनाएर पनि पछि परिरहेका छौं। प्रश्न उठ्छ—कसले बनायो यस्तो नेपाल? त्यसको जिम्मेवारी कसले लिने?”
महतोले अन्त्यमा भने, “देश हिमाल, पहाड, तराई, मधेश सबैको हो। अधिकार र पहिचान सबै नेपालीका लागि हो। साझा देश बनाउन हो भने सबै पहिचानलाई स्वीकार्नैपर्छ।”