Premier Cables
Premier Steel

विराटनगर साहित्य

२५ सय पृष्ठको नेपाली शब्दकोष: झोलामा थन्किएको एउटा सपना !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ८:२३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । काँधमा धोक्रो, भित्र एउटा झोला। अनि झोलाभित्र बन्द छ-२५ सय पृष्ठ लामो नेपाली भाषाको शब्दकोष। यसरी शब्द बोकेर हिँडिरहेका छन् साहित्यकार भक्ति दाहाल, विराटनगरका गल्ली-गल्लीमा।

उमेरले जीवनको उत्तरार्धतिर लागिसकेका दाहालका लागि अबको लक्ष्य भने यही-‘शब्दमाला’ भन्ने नाम दिइएको शब्दकोषलाई प्रकाशित गर्नु हो। यो सपनाको यात्रा आजको होइन, वर्षौंअघिदेखि सुरु भएको हो। तर अहिले पनि त्यो सपनाको वास्तविकता भने एउटा झोलाभित्रै थन्किएको छ।

“यसलाई किताबको रूपमा देख्न पाए जीवन सफल हुन्थ्यो,” उनी भन्छन्, “तर मेरो पहुँच छैन।”

भक्ति दाहाल भाषाविद् डा. बालकृष्ण पोखरेलका शिष्य। पोखरेलले नेपाली भाषामा शब्दकोष निर्माणमा ५७ वर्ष खर्चिए। त्यही प्रेरणाले दाहाललाई पनि भाषाको सेवामा समर्पित गरायो। तर दाहालले पोखरेलभन्दा एक कदम अगाडि बढेर पूरै जीवन नै भाषाका शब्दहरू संकलन गर्न खर्चिएको बताउँछन्।

उनले तयार पारेको शब्दकोषमा १ लाख ४५ हजारभन्दा बढी शब्द छन्। व्याकरण, ध्वनि विज्ञान, लोकभाषा र व्यवहारमा आधारित यस्ता शब्दहरू छन्, जुन अझसम्म प्रचलित कोषहरूमा देखिँदैनन्।

“शब्द सागर, बसन्तकुमार शर्मा, वा नेपाल प्रज्ञा प्रतिष्ठानका कोषहरूमार्फत धेरै शब्द दोहोरिएका छन्, अधुरा छन्, मौलिकता कम छन्,” उनी तर्क राख्छन्।

भक्ति दाहाल भाषा मात्र होइन, संस्कृतिका पक्षपाती पनि हुन्। ‘ऋ’, ‘लृ’ जस्ता वर्णहरू वर्णमालाबाट हटाउने निर्णयप्रति उनी असन्तुष्ट छन्।

“संस्कृत शब्दहरू हाम्रो पहिचान हुन्, तिनलाई व्यवहारबाट मेट्न सकिँदैन,” उनी जोड दिन्छन्।

उनको शब्दकोष संस्कृत, नेपाली र विभिन्न लोकभाषाहरूको समिश्रण हो। एक उदाहरण दिँदै उनी भन्छन्,

“‘बोडा’ भन्ने शब्द व्याकरणिक हो, लोकभाषा होइन। यसको प्रयोग र उच्चारण नै भाषाको ध्वनि विज्ञानलाई प्रतिबिम्बित गर्छ।”

भाषाको शक्तिको तुलना एटम बमसँग
दाहाल भाषा र उसका प्रभावप्रति गहिरो विश्वास राख्छन्। उनी भन्छन्,

“भाषा एटम बम हो-यसले विनाश पनि गर्न सक्छ, संरक्षण पनि। प्रश्न प्रयोगको हो।”

उनका अनुसार, संस्कृतमा १०० भन्दा बढी वर्ण छन्, अंग्रेजीमा ध्वनि संरचना स्पष्ट छैन, चिनियाँमा ७२ ध्वनि छन्। यी तुलनाबाट उनी नेपाली भाषाको समृद्धि देखाउने प्रयास गर्छन्।

२५ सय पृष्ठको शब्दकोषलाई प्रकाशित गर्न उनलाई अनुमानित १८००-२००० रुपैयाँ प्रति प्रति खर्च लाग्नेछ। ठूलो संख्यामा प्रकाशित गर्न सम्भव नभए पनि,

“थोरै संख्यामा छाप्ने, बाँकीलाई डिजिटल बनाउन सक्ने सोच छ,” उनी बताउँछन्।

तर अहिलेसम्म राज्यको चासो छैन, समाजको साथ छैन, अनि संस्थानहरूको सहयोग छैन।

एक साधारण झोला, एउटा धोक्रो, र एक व्यक्तिको जीवनभरिको मेहनत। दाहालका लागि यी सबै नेपाली भाषा र पहिचानको प्रतिक हुन्। तर अहिले त्यो पहिचान झोलाभित्र थन्किएको छ-प्रकाशनको प्रतिक्षामा।

“भाषा भनेकै पहिचान हो,” उनी भन्छन्, “त्यही पहिचान जोगाउन म हिँडिरहेको छु।”

भक्ति दाहाल हरेक दिन शब्द बोकेर हिँड्छन्स-पनाको बोझ होइन, भाषाको धरोहर।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka