






दाङ । पश्चिम तराईका थारु समुदायले आज (आइतबार) परम्परागत अटवारी पर्व विविध धार्मिक र सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्वक मनाइरहेका छन्।
कुसे औंसीपछिको पहिलो आइतबार मनाइने यस पर्वमा दाजुभाइहरूले दिदीबहिनीको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन रहेको छ।
पर्वको अघिल्लो दिन, अर्थात् शुक्रबार राति थारु समुदायमा “दर” खाने प्रचलन छ। त्यसपछि शनिबार दिनभर व्रत बसेर साँझपख रोटी पकाई अग्निदेवतासहित अन्य देवी–देवताहरूलाई चढाइन्छ। आइतबार बिहान भने भात–तरकारी पकाई पुनः देउतालाई चढाएपछि मात्र स्वयं भोजन गरिन्छ।
यस पर्वमा थारु समुदायका परिवारजनहरू एकै स्थानमा भेला भई परम्परागत भेषभूषामा पूजाआजा तथा सामूहिक सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।
लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा थारु समुदायको बाहुल्य रहेका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। अटवारी पर्व थारुहरूको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण चाडका रूपमा मानिन्छ।