






विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा आइतबार विराटनगरमा प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, रथयात्रामा भीडभाडको मौका छोपेर शंकास्पद तथा अवाञ्छित गतिविधि गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिइएको हो। चोरी र पकेटमारीमा संलग्न हुनसक्ने आशंकामा केहीलाई अनुसन्धानको दायरामा ल्याइएको उनले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएका ५७ जनामध्ये ५३ जना पुरुष र ४ जना महिला छन्। महिला चारै जनालाई आइतबार राति नै छोडिएको भए पनि पुरुषहरू हालसम्म प्रहरी नियन्त्रणमै छन्।
एसपी चिमरियाका अनुसार, नियन्त्रणमा परेकाहरूको साथबाट केही मोबाइल पनि बरामद गरिएको छ। “उनीहरूको स्क्रिनिङ भइरहेको छ। विगतमा कुनै आपराधिक गतिविधिमा संलग्न थिए कि भनेर अनुसन्धान गरिँदैछ। सबै विवरण प्राप्त भएपछि उनीहरूलाई छाड्ने वा थप कारबाही गर्ने निर्णय गरिनेछ,” उनले भने।
रथयात्राको क्रममा हालसम्म सुनका ५ वटा सिक्री र ९ वटा मोबाइल चोरी भएको उजुरी प्रहरीमा प्राप्त भइसकेको छ। चोरीका सम्बन्धमा उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
एसपी चिमरियाले रथयात्रा हजारौं भक्तजनको सहभागितामा भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए। “उच्छृङ्खल, शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरूलाई मात्र नियन्त्रणमा लिइएको हो। अन्य कुनै ठूला समस्या आएन। शान्ति सुरक्षा सुदृढ गरिएको थियो,” उनले भने।