






विराटनगर । विराटनगरमा आइतबार(भोलि) निकालिने राधाकृष्ण रथयात्राको सबै सुरक्षा व्यवस्था पूरा भएको छ ।
यसका लागि विभिन्न घेरमा सुरक्षाकर्मी परिचालन हुने छन् । हुने भव्य रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सुरक्षा योजना बनाइएको जनाएको छ। भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि हुन नदिन लागि १ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाका अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धानकोटोली र सादा पोसकमा प्रहरी परिचालन हुने छन् । रथयात्रामा सहभागी भक्तजनलाई भिडभाडबाट सजग रहन आग्रह गरिएको छ । सुनचाँदीका गरगहना तथा वहुमुल्य सामग्री साथै नल्याउने प्रहरीले आग्रह गरेको छ ।
अवाञ्छित गतिविधि रोक्न विशेष ध्यान दिइने एसपी चिमरियाले बताएका छन् । शंकास्पद गतिविधि भए वा शंका लागे प्रहरीलाई खबर गर्न भनिएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा मोबाइलबाट सम्पर्पक गर्न सकिने बताइएको छ ।
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने यो रथयात्रा एशियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो धार्मिक यात्रा मानिन्छ। यसपटक नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ।
विराटनगरमा वि.सं १९८८ सालमा खटयात्रा शुरु भएको थियो । २०२५ सालदेखि रथयात्रामा परिणत भयो ।