






विराटनगर । विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा शुरु भएको ढेड घण्टाभन्दा धेरै समय भएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर नजिकै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका थिए ।
तीनपैनीबाट शुरु भएको रथयात्रा अहिले जलजला मोडबाट अघि बढेको छ । यमेनरोड हुँदै अघि बढेको रथले ४४ स्थानमा विश्राम गर्ने छ । तीनपैनी चोकमा विश्राम लिएको रथको विश्राम स्थल धनावत निवास अगाडि हुँदै विराटेश्वर मन्दिर, महानगरपालिकाको गेट,गोल्छामोड हुँदै अगाडि बढेको हो । ट्राफिक चौकदेखि अगाडि पट्टी धेरै भक्तजनको घुइँचो लागेको छ । रोडेशष चौकमा पनि ठूलो भिडभाड छ ।
यस क्रममा तोकिएका स्थानमा भक्तजनले पूजा गर्ने व्यवस्था मिलाइएको मूल आयोजक समितिले जनाएको छ । मेनरोड हुँदै निस्कने रथयात्राले नगरका विभिन्न भाग परिक्रमा गरी कोसी राजमार्ग हुँदै बरगाछी पुगेर पुनः मन्दिर परिसरमा आई समापन हुने छ । यस क्रममा रथले ९ किलोमिटर दूरी तय गर्ने मूल आयोजक समितिले जनाएको छ ।