Premier Cables
Premier Steel

विराटनगर

नगर बस सञ्चालनको होड : इटहरीमा चल्यो-बेलबारीमा थन्कियो, विराटनगरमा अन्योल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशका विभिन्न स्थानीय तहहरूले नगर बस सेवा सञ्चालन गर्न सुरु गरेका छन्, तर कतै रुटको अव्यवस्था, कतै भुक्तानी विवाद त कतै प्रस्ताव नै नपरेर योजना अलपत्र परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिकाले प्रदेशमै पहिलो पटक विद्युतीय नगर बस सञ्चालनमा ल्याएको थियो। चारवटा ई–बस खरिद गरी विभिन्न रुट तोकी सञ्चालन गरिए पनि यात्रुको चाप न्यून भएको छ। रु. ६ करोड ३६ लाख ८६ हजार ८ सय खर्च गरेर ल्याइएका बसहरू दिनभर प्रायः खाली गुड्ने गरेका छन्।

स्थानीयहरूले रुटहरू अव्यवहारिक भएको गुनासो गर्दै आएका छन्, जसका कारण यात्रु सिटी रिक्सा वा अन्य साधन चढ्न बाध्य छन्। यद्यपि इटहरीका मेयर हेमकर्ण पौडेलले भने सेवा सामान्य रूपमा चलिरहेको बताएका छन्। सञ्चालन खर्च भने उपमहानगर आफैले व्यहोर्दै आएको छ।

मोरङको बेलबारी नगरपालिकाले तीन महिनाअघि खरिद गरेको विद्युतीय बस अझै सञ्चालनमा आउन सकेको छैन। नेशनल फायर सेफ प्रा.लि. बाट १ करोड १६ लाख रुपैयाँमा खरिद गरिएको आधुनिक १८ सिटे ई–बस भुक्तानी विवादका कारण नगर कार्यालयमै थन्किएको छ।

नगरपालिकाले अन्तिम किस्ताको करिब ३० लाख रुपैयाँ रोकिदिएपछि आपूर्तिकर्ता र नगरबीच विवाद चुलिएको हो। आपूर्तिकर्ता खगेन्द्र कार्कीले चार्जिङ स्टेसन सम्झौतामा नरहे पनि नबनाएको बहाना देखाएर भुक्तानी रोकिएको आरोप लगाएका छन्। नगरले भने प्राविधिक स्पष्टता नआएसम्म भुक्तानी दिन नसकिने बताएको छ।

बेलबारीमा प्रदेश सरकारले छुट्टै चार्जिङ स्टेसन निर्माण गरिसकेको भए पनि ट्रान्सफर्मरको अभावमा हालसम्म सञ्चालनमा आउन सकेको छैन।

विराटनगरमा योजना मात्र, कार्यान्वयन शून्य
विराटनगर महानगरपालिकाले २०७९ फागुनमा डिजेल नगर बस सञ्चालनको घोषणा गरेको थियो।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बसमा बसेर रुट परीक्षणसमेत गरेका थिए। तर अहिलेसम्म सेवा सुरु हुन सकेको छैन।

महानगरले सार्वजनिक-निजी साझेदारीमा बस चलाउन हालै प्रस्ताव आह्वान गरेको छ। भदौ ८ गतेभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरिएको छ। तर, निर्धारित समय नजिकिँदा समेत एक पनि प्रस्ताव दर्ता भइसकेको छैन।

महानगरले निजी कम्पनीसँग २० वर्षे सम्झौता गरेर नगर बस सञ्चालन गर्ने तयारी गरेको छ। शुरुमा कम्तीमा १० वटा वातावरणमैत्री, वातानुकूलित र आधुनिक बस सञ्चालन गर्नुपर्ने शर्त राखिएको छ।

पहिलो चरणमा ५ वटा रूटमा बस सञ्चालन गरिने र प्रत्येक रूटमा दैनिक तीनपटक सेवा दिनुपर्ने जनाइएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka