Premier Cables
Premier Steel

राष्ट्रिय

दाङमा घर पालुवा कुकुरको मृत्युपछि ९ दिनसम्म काजकिरिया

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दाङ । आफ्नै सन्तानसरह माया गरी पालेको कुकुरको मृत्यु भएपछि तुलसीपुर उपमहानगरपालिका–७ मानपुरका शशीधर पौडेलले विधिपूर्वक काजकिरिया गरेका छन्। कुकुरको निधनको शोकमा पौडेलले ९ दिनसम्म हिन्दू परम्परा अनुसार किरिया बसेका हुन्।

कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले स्थानीय कुकुरहरूलाई खीरसहितका खाद्य सामग्री खुवाए। श्रद्धाञ्जली सभामा छिमेकी तथा आफन्तहरूको बाक्लो उपस्थिति रहेको थियो। सम्भवतः नेपालमै पहिलो पटक कुकुरको मृत्युपछि यसरी विधिवत् किरिया गरिएको यो घटना समाजमा मानव र पशुप्रतिको सम्बन्धको संवेदनशील उदाहरण बनेको छ।

बिज्ञापन

मृत कुकुरको नाम ‘रमी’ थियो। जापानी स्पिट्ज जातको रमीलाई पौडेलले काठमाडौंबाट ल्याएका थिए। ७ महिनाको उमेरमा ल्याइएको रमीलाई घरमा ‘रमी कान्छा’ भनेर बोलाइन्थ्यो। पौडेलका अनुसार रमी अनुशासित, बुझ्ने र माया गर्ने स्वभावको थियो।

“जहाँ जान्थें, पछ्याउँथ्यो,” उनले सम्झिए, “म घर आउँदा पाँच सय मिटर टाढै आइपुग्थ्यो र मोटरसाइकलको पछाडि बसेर फर्किन्थ्यो।”

रमीलाई पौडेलले हरेक दिन मोटरसाइकलमा राखेर २०–२५ मिनेट घुमाउने गरेका थिए। त्यो नियम नटुटे पनि हुन्थेन। “कहिलेकाहीँ घुमाउन नपाए रिसाउँथ्यो, खाना खान मान्दैनथ्यो,” उनले भने।

तर केही दिनअघि एक दुखद घटनाले रमीको ज्यान गयो। शशीधर पिठो र तोरी लिन बाहिर निस्कँदा रमी पछ्याउँदै गएको थियो। फर्कँदा रमी बेपत्ता भयो। खोजीका क्रममा थाहा भयो, रमीलाई अरू कुकुरको झुण्डले घेरेर आक्रमण गर्दा भाग्ने क्रममा ऊ नहरमा खसेको थियो। झन्डै एक किलोमिटर लामो सुरुङजस्तो नहरबाट रमी निस्कन सकेन।

तीन दिनपछि मात्र रमीको शव फेला पर्यो — हिलोमा गाडिएको अवस्थामा। शशीधर भन्छन्, “मलाई आफ्ना आमाबुबा गुमाउँदा पनि यति पीडा भएको थिएन।”

दाङमा घर पालुवा कुकुरको मृत्युपछि ९ दिनसम्म काजकिरिया
रमीको मृत्युपछि गरिएको विधिवत् श्रद्धाञ्जली र काजकिरियाले पशुप्रतिको माया र संवेदनशीलताको भावनात्मक पक्ष उजागर गरेको छ। स्थानीय बासिन्दाहरूले शशीधरको यो कदमलाई अतुलनीय ममता र पशु अधिकारप्रतिको सम्मानको प्रतीकका रूपमा लिएका छन्।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa