






विराटनगर । मोरङको उत्तरी भेगमा अवस्थित मिक्लाजुङको रमिते डाँडामा आन्तरिक पर्यटको घुइँचो लाग्न थालेको छ ।
विशेष गरी तराईको गर्मी छल्न केही समय भएपनि त्यहाँ घुम्न पुग्ने आन्तरिक पर्यटकको हिजोआज भिड बढ्न शुरु भएको हो ।
सुनसरीको भेडेटार जत्तिकै चिसो र प्राकृतिक हिसाबले रमाइलो मोरङको रमिते डाँडामा भर्खरै पक्की सडक बनेपछि पर्यटकीय चहल पहल शुरु भएको हो । गर्मी भुलाउन र चिसो महसुस गर्नेहरुका लागि रमिते अहिले निकै चर्चामा छ । भर्खरै खुलुका होटल तथा रेस्टुरेन्टहरुमा समेत शुक्रबार र शनिबार मानिसहरुको चहल पहल देखिन थालेको स्थानीय व्यवसायीले बताएका छन् ।
मोरङको मंगलबारे बजार पूर्वको किसान चौकबाट उत्तर लागेपछि डेढ घन्टामा रमिते पुग्न सकिन्छ । मदन भण्डारी राजमार्ग हुँदै लेटाङ–जाँतेबाट केही पूर्व आई मास्तिर उत्तर उक्लदाँ एक घण्टामा रमिते डाँडा पुग्न सकिन्छ । यहाँ हमेसा चल्ने चिसोहावा र कुहिरोले मौसम चिसो हुने गरेको छ ।
स्थानीय पर्यटन प्रवद्र्धनमा सक्रिय पर्यटन व्यवसायी भविष श्रेष्ठ केही अघिसम्म प्रचार प्रसारको अभावले रमिते डाँडा ओझेलमा परेपनि कोसी प्रदेश सरकारले कालोपत्रे सडक बनाई दिएपछि पर्यटकहरु जान थालेको बताउँछन् । रमिते डाँडाबाट तराईका हरिया फाँट, चारकोसे जंगल, दमकको दमक टावर र बिर्तामोड बजार प्रस्टसँग देख्न सकिने श्रेष्ठले बताए ।
भने,‘‘रमितेमा नाइट स्टेका लागि व्यवस्थित र सुविधा सम्पन्न होटेल खोल्न सके अझ धेरै पर्यटक आउन सक्छन् ।’’ रमिते मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । त्यहाँ टिकटक बनाउने, वनभोज खाने र परिवारसँग घुम्न पुग्नेहरुको चहल पहल बढ्न थालेको छ ।