






काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
एक महिनाको अवधिमा बैंकहरुको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको हो । वैशाखमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ बढी नाफा कमाएको छ । ग्लोबल आइएमईले ६ अर्ब ३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । सबैभन्दा कम नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ । यसले ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
विकास बैंकहरूतर्फ मुक्तिनाथ विकास बैंक १ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गर्दै अग्रस्थानमा रहेको छ, त्यसपछि गरिमा विकास बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ।
त्यस्तै, वित्त कम्पनीहरूतर्फ मञ्जुश्री फाइनान्सले २४ करोड ४३ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सले २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।