Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रधानमन्त्रीकै क्षेत्रमा सडककाे हविगत: तीन दशक बित्यो, अधुरै छ फाल्गुनन्द मार्ग !

ठेकेदारको लापरवाही, जनता समस्यामा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | साँझ ६:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दमक( झापा) । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी–पञ्चमी जोड्ने फाल्गुनन्द मार्ग तीन दशकदेखि निर्माणाधीन अवस्थामा छ। पटक–पटकको बजेट विनियोजन र निर्माण कार्य भए पनि ३३ किलोमिटर लामो यो सडक अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

सडकको अवस्था अहिले पनि दयनीय छ। रतुवा नदीको किनारमा ट्र्याक खुलेको छ, तर वर्षामा हिलो र हिउँदमा धुलोका कारण यात्रुहरू सास्तीमा छन्। स्थानीयको बारम्बारको माग र दबाब बावजुद पनि सडक अझै कालोपत्र हुन सकेको छैन।

बिज्ञापन

यो मार्ग पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र दमक र स्व. संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको क्षेत्र माङसेबुङ जोड्ने महत्वपूर्ण सडक हो। झापा, इलाम र पाँचथरका हजारौँ नागरिकका लागि यो कृषि, व्यापार र दैनिकीको प्रमुख मार्ग हो। तर, लामो समय बित्दा पनि निर्माण नपुगेपछि जनताको आक्रोश चुलिएको छ।

सडक डिभिजन कार्यालय दमकका अनुसार तीन खण्डमा निर्माणको जिम्मा दिइएको भए पनि काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ। पहिलो खण्ड अन्तर्गत दमकको जिरोप्वाइन्टदेखि सात किलोमिटरसम्मको सडक महालक्ष्मी–किरातेश्वर जेभीले २०७५ सालमा ३० महिनामा सक्नेगरी २२ करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको थियो। तर चार पटक म्याद थप्दासमेत कालोपत्र हुन सकेको छैन।

अहिले कम्पनी दैनिक जरिवानामा काम गरिरहेको डिभिजन प्रमुख श्यामकुमार यादवले जानकारी दिए। “म्याद सकिएको दुई वर्ष बितिसकेको छ, तर काम पूर्ण छैन,” उनले भने।

दोस्रो (१५ किमी) र तेस्रो (११ किमी) खण्डमा लुम्बिनी–गणपति जेभीले २०७६ सालमा ठेक्का लिए पनि करिब आधा काम मात्र सम्पन्न भएको छ। ५४ करोड र ५९ करोडको ठेक्का सम्झौतासमेत समयमै पूरा हुन सकेन।

मुद्दा अदालतमा, काम ठप्प
ठेकेदार कम्पनीले काम नगरेपछि २०८० फागुनमा ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरिएपछि कम्पनीले उच्च अदालत पाटन र जिल्ला अदालत झापामा रिट दर्ता गर्‍यो। उच्च अदालतले रिट खारेज गरे पनि जिल्ला अदालतमा मुद्दा अझै चलिरहेको हुँदा निर्माण अघि बढ्न सकेको छैन।

स्थानीयवासी भने वर्षौँदेखि सडक निर्माण नपुग्दा हैरान छन्। माङसेबुङ गाउँपालिका–३ का सजन राई भन्छन्,

“हामी बच्चा हुँदा काम सुरु भएको थियो, अहिले पनि बाटो अधुरै छ।”

त्यस्तै, पालिका–२ की समीक्षा खड्काले भनिन्, “प्रत्येक चुनावमा यो बाटो बनाउने भनेर नेताहरू आउँछन्, तर अवस्था झन् बिग्रँदो छ। अब त मुद्दा परेको छ भनेर झनै निराश भएका छौँ।”

स्थानीय बासिन्दाको पीडा देखेर माङसेबुङ गाउँपालिकाले गत वर्ष रु १५ लाख विनियोजन गरी सडक मर्मत गरेको थियो। यस वर्ष पालिकाले जेसिभी उपलब्ध गराई व्यवसायीको सहयोगमा सामान्य मर्मत कार्य गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए।

“हामीले सकेको सहयोग गरेका छौँ, तर ठूला संरचना बनाउने जिम्मा त राज्यकै हो,” अध्यक्ष राईले भने, “अब ढिलाइ नगरि सम्बन्धित निकायले सडकको काम अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka