विराटनगर । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज देशभर धार्मिक श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। ठूलो एकादशीका नामले समेत परिचित यस पर्वमा तुलसी र भगवान् दामोदर (विष्णु) को विवाह गराउनुका साथै विशेष पूजाआराधना गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने विश्वास गरिन्छ। यही मान्यताका आधारमा यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो।
भगवान् विष्णु चार महिनासम्म शयन गर्ने विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायतका मांगलिक कार्य गरिँदैनन्। यस अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर भक्तजनले तुलसीको व्रत बसी नियमित पूजाआराधना गर्ने चलन छ।
हरिशयनी एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेष रूपमा सिँगारेर विवाह गराउने परम्परा छ। यसका लागि तुलसीको मठ लिपपोत गरी सफा तथा आकर्षक बनाइन्छ। मठको नजिकै भगवान् विष्णुको प्रतीकका रूपमा बाँस वा निगालोको लिङ्गो र उखुका लाक्रा गाडेर विधिपूर्वक तुलसी विवाह तथा पूजा गरिन्छ।
यस दिन व्रतालुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने प्रचलन छ। यस्तो धार्मिक अनुष्ठान गर्नाले पाप नाश हुने, पुण्य प्राप्त हुने र मोक्ष मिल्ने धार्मिक विश्वास रहिआएको छ।
हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउने चलनसमेत छ। यस दिन देशभरका विष्णु मन्दिर तथा धार्मिक स्थलहरूमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ।
धार्मिक विधिअनुसार आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म साइत नहेराई तुलसीको हवन गर्न सकिन्छ। त्यसपछि भने शुभसाइत जुराएर हवन तथा पूजा गरी चार महिनादेखि जारी तुलसी पूजाको समापन गरिन्छ।
हरिबोधिनी एकादशीलाई चतुर्मासको समापन र शुभकार्यको पुनः सुरुवातको संकेतका रूपमा समेत लिइन्छ।
