काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बैंकिङ समूह र म्युचुअल फण्ड समूह मात्रै बढेका छन् भने बाँकी सबै ण्समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०५ प्रतिशतले बढेर १५७०.९० विन्दुमा कायम भएको छ भने म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्ने समूहमा भने व्यापार समूह रहेको छ । यो समूह २.४९ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३२ प्रतिशत, हाइड्रो समूह ०.४७ प्रतिशत, लगानी समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६५ प्रतिशत र अन्य समूह ०.५९ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पछिल्लो समय बजार निरन्तर घट्नुको मुख्य कारण कम्पनीहरूको कमजोर वित्तीय अवस्था वा लाभांश रहेको बताए । चरम राजनीतिक अस्थिरतासँगै सूचीकृत कम्पनीहरुको खस्किँदो वित्तीय अवस्था र लाभांश दिन नसक्ने कम्पनीको अवस्थाका कारण बजारप्रति लगानीकर्ता निरुत्साहित भएको उनको भनाई छ ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र सरकारले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार कार्ययोजनाले भने लगानीकर्तामा केही आशा जगाएको उनले बताए ।
‘नेप्सेको पुनर्संरचना, नयाँ बेन्चमार्क इन्डेक्स र मार्जिन कारोबारलगायतका सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए बजारले सकारात्मक गति लिन सक्ने देखिन्छ’ उनले भने, ‘तर राजनीतिक अन्योल कायम रहेसम्म लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहनेछन् ।’

