Premier Cables
Premier Steel

राजनीति

बालेनको भारत भ्रमणमा भैरहवा विमानस्थल सञ्चालनको आशा, हवाई रुटमा भारतसँग निर्णायक वार्ता हुने

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | राती ८:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) सञ्चालनका लागि आवश्यक हवाई प्रवेश मार्गको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ ।

लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेपालले भारतसँग थप हवाई रुट उपलब्ध गराउन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयमा ठोस समझदारी गर्ने नेपालको तयारी छ ।

विज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुट तथा प्रवेश बिन्दुको विषय भ्रमणको महत्त्वपूर्ण एजेन्डामा समेटिएको छ ।

नेपालले विशेषगरी महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि थप प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । तर भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै लामो समयदेखि यस विषयमा निर्णय गर्न सकेको छैन ।

पछिल्लो समय भने भारत महेन्द्रनगरलगायतका हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सकारात्मक देखिएको नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपालले भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान सहज बनाउन महेन्द्रनगर हुँदै प्रवेश गर्ने विमानको उचाइ ३९ हजार फिटबाट घटाएर ३५ हजार फिट कायम गर्न प्रस्ताव गरेको छ । हालको उचाइ व्यवस्थाका कारण अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश गरेपछि अवतरणका लागि आवश्यक उडान प्रक्रिया मिलाउन कठिनाइ हुने गरेको छ ।

यता भारतले पनि आफ्ना विमानस्थल सञ्चालनका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । भारतले पश्चिम बंगालको बागडोगरा र निर्माणाधीन रक्सौल विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न चाहेको हो ।

भारतले हवाई रुटसम्बन्धी विषयलाई छुट्टाछुट्टै नभई समग्र प्याकेजका रूपमा टुंग्याउनुपर्ने प्रस्ताव गरेको सचिव निरौलाले बताएका छन् ।

यसअघि पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको नेपाली टोलीले भारत पुगेर हवाई रुटका विषयमा छलफल गरिसकेको छ ।

नेपालले भैरहवा र पोखरा विमानस्थललाई भारतका प्रमुख सहरसँग हवाई सेवामार्फत जोड्न पनि आग्रह गर्दै आएको छ । विशेषगरी पोखरा र भैरहवाबाट दिल्लीसहितका भारतीय सहरमा नियमित व्यावसायिक उडान सञ्चालन गर्ने विषय नेपालको प्राथमिकतामा छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते सञ्चालनमा आएको हो । तर आवश्यक हवाई प्रवेश मार्ग र नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा विमानस्थलले अपेक्षित व्यावसायिक गति लिन सकेको छैन ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पनि नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सकेको छैन । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा पर्यटन तथा हवाई क्षेत्रको लगानीको प्रतिफलसमेत प्रभावित भइरहेको छ ।

हवाई रुटको समस्या समाधान भए अन्तर्राष्ट्रिय विमानको उडान दूरी र समय घट्ने, इन्धन खर्च कम हुने तथा यात्रुले सस्तो हवाई भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हवाई सम्पर्क विस्तारबारे सहमति जुटे भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka